चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ बुङ्ची घर भएका अनमोल सिँहले वि.सं २०७५ साल १–१५ गते आफ्नी प्रेमिका अश्मी भट्टराइलाई ‘कुकर’ उपहार दिए । प्रेम सम्बन्धमा बाँधिएपछि प्रेमिलाई कुकर मन पर्ने कुरा अनमोलले थाहा पाए । त्यसपछि प्रेमिका अश्मीको खुसीको लागि उनकै रोजाइमा परेको विश्वमै सुन्दर मानिने ‘इटालियन पग’ जातिको कुकुर अनमोलले काठमाण्डौँबाट नगद ३० हजारमा झिकाए । र, प्रेमिका अश्मी भट्टराईलाईसंगै बाँच्ने, सँगै मर्ने भन्दै कुकुर उपहार दिए । दुवैले त्यसको नाम ‘बेला’ राखिदिए ।
आफूलाई मन पर्ने कुकर र त्यसमाथि पनि विश्वकै सुन्दर ‘पग’ जाति । यो पाएपछि अश्मी झन् खुसी थिइन् । आफ्नो प्रेमीकाले भनेको कुरा उपहार दिन पाउँदा अनमोल पनि उत्तिकै खुसी थिए । अश्मीलाई आफ्नो प्रेमी अनमोल र बेला समान लाग्थ्यो । अश्मीले अनमोललाई जत्तिकै बेलालाई माया गर्थिन् । बेलाकै कारण उनीहरुको प्रेम सम्बन्ध पनि थप प्रगाढ बन्दै गयो ।
धेरैका प्रेम सम्बन्धहरु टुटिरहेको वर्तमान परिवेशमा अनमोललाई भाग्यमानी ठान्नु पर्दछ कि कुकर उपहार दिएको ३ महिनामै अश्मीसंग लगनगाँठोमा कसिन पुगे । अर्थात् उनीहरुको ‘लभ म्यारिज’ भयो ।
अश्मीले श्रीमानको मायाको चिनो भनेर परिवारका अन्य सदस्यलाई भन्दा पनि बढ्ता माया दिएरै बेलाको पालन पोषणमा गरिन् । दुवैजना त्यसैसंग खेले । डुले । रमाए पनि । बेलाकै कारण प्रेम सम्बन्धको ३ बर्ष कसरी वित्यो पत्तो नभएको उनीहरुले मायादेवीसंग बताए ।
अनमोल र अश्मीको विहे भएको अहिले साढे २ बर्ष नाघिसक्यो । कुकरकै कारण ‘खुसी’ त्यो प्रेम जोडीमा कुकुरकै कारण अहिले विग्रह र तनाव छ । खुसीले भरिएको त्रिकोणीय प्रेम घरमा अहिले एउटा सदस्य छैन । अर्थात् अश्मी र अनमोल छन् तर उनीहरुको सम्बन्धको सेतु मानिएको ‘बेला’ कुकुर मरेको छ । बेला (गर्भवती) हुने क्रममा मरेको अश्मीका पति अनमोलले मायादेवीसंग बताए । ‘बेला’ मरेको १० दिन नाघिसकेको छ ।
उनको घर नजिकैको खाल्डोमा विधिसम्मत दाहसंस्कार पनि भइसकेको छ । तर बेला मरेपछि अश्मी रातदिन त्यही कुकरलाई सम्झेर रोइरहन्छिन् । पति अनमोल पनि मुर्छित छन् । बेलाको मृत्यु स्वभाविक नभई पशु डाक्टरले संवेदनशिलता नपनाउँदा भएको भन्दै दुवै जना दुखी भएका हुन् । परिवारको भावनासंग जोडिएको कुकुर मरेपछि छानबिन माग गर्दै अनमोल अहिले वडा कार्यालय, जिल्ला पशु विभाग, प्रहरी, प्रशासन, नगरपालिका र मिडियासंग धाइरहेका छन् । सिँहले आफ्नै घरमा ‘पेट स्टोर’ अर्थात् (डगिज होम) पनि संचालन गरी बसेका छन् । श्रीमती अश्मी पनि नर्सिङ पढ्छिन् । बेला मरेपछि मानसिक तनावमै परेको भने उनीहरुले बताए ।
सुत्केरी ‘बेला’ यसरी मर्यो
यही पौष २६ गते ‘बेला’लाई सुत्केरी ब्यथा लाग्यो । बेलाले अरु पनि बच्चा जन्माउने भयो भनेर उनीहरुको खुसीमाथि थप खुसी थपिँदै थियो । दिउँसो २ बजे सुत्केरी ब्यथा लागेपछि अनमोलले भेट डाक्टर आफ्ना साथी विष्णु घिमिरेलाई बुङची घरमा बोलाए । त्यसपछि घिमिरे पनि अनमोल कहाँ आए । घिमिरेले बाणगंगामै एक भेट सेन्टर संचालन गर्दै आइरहेका छन् ।
बेला सुत्केरी ब्यथाले सिकिस्त थियो । सोही दिन दिउँसो ४ बजे घिमिरेको सहायतामा बेलाको पहिलो बच्चा जन्मियो । सात बजेसम्म बेलाबाट ५ वटा बच्चा जन्मिए । त्यो बेलासम्म कुकर पनि स्वस्थ थियो । त्यसपछि राति १० बजेसम्म पनि बेलाबाट अरु बच्चा आएनन् । डाक्टर घिमिरेलाई लाग्यो अब बेलाले अरु बच्चा जन्माउँदैन । तै पनि उनले पनि अरु बच्चा छन् या छैनन् ? जाँच गरे । पेट छामुछुम पारे । राति १० बजेसम्म बस्दासम्म बेलाबाट अर्को बच्चा नजन्मिए पछि पशु चिकित्सक घिमिरे पनि कुकरको पेटमा अरु बच्चा छैनन् भन्ने लागेर त्यहाँबाट निस्किए । त्यो दिन वित्यो । अर्को दिन वित्यो । अर्को दिन वित्यो । ४ दिनपछि माघ १ गते बेला मर्यो ।
यो बीचमा ‘बेला’ हल्का कमजोरजस्तो देखियो । कुकर हल्का विरामी भएपछि अनमोलले घिमिरेलाई थप सम्पर्क गर्न खोजे तर उनीहरुबीच संबाद भएन । बेला मरेपछि अश्मी र अनमोल निकै चिन्तामा छन् । आफ्ना श्रीमानलाई भन्दा बढी माया गरेर राखेको, हरेक दिन आफ्नै विस्तारामा सुताउने गरेका, मिठोमिठो खानेकुरा दिएर पालेको अवस्थामा अकस्मात् बेला मरेपछि अश्मीलाई आश्चर्य भयो । अनि उनले डाक्टरसंग थप सल्लाहा लिएर मात्र अन्तिम संस्कार गर्नुपर्ने ढिपी गरिन् ।
अनमोलले श्रीमतीको कुरा नकार्न सकेनन् । उनले अर्का भेट डाक्टरलाई घरमा बोलाए । बेला मरेको दिन नै बाणगंगाकै अर्का डाक्टर त्यहाँ गए । कुकरलाई हेरे । आवश्यक जाँचपछि बेलाको पेटमा थप बच्चा हुन सक्ने आंकलन गरेर ती डाक्टरले मृत बेलाको अप्रेसन गरे । अप्रेसनपछि थप २ बच्चा मृत भेटिए । एउटा बच्चा मरेको थियो भने अर्को बच्चा सढेको अवस्थामा थियो । त्यसपछि अश्मीका २ जनालाई ओदारीका भेट डाक्टर घिमिरेले नै सही सूचना र जानकारी दिन नसकेकै कारण आफूहरुको प्रेमको प्रतिक नाश भएको पीडामा अश्मीको परिवार छट्पटिरहेको छ । अहिले आफूलाई भात पनि खान मन नलागेको र मानसिक छटपटी भएको अश्मीले मायादेवीको कार्यालयमै आएर रुँदै बताइन् ।
श्रीमान् अनमोलले पनि साथी मानिएका भेट डाक्टर घिमिरेको असंवेदनशिलताकै कारण आफ्नो प्रेमको फुल नाश भएको भनी आक्रोशित छन् । कुकरलाई डेलिभरी गराउने डाक्टरले किन बेलाको पेटभित्र बच्चा भएको जानकारी दिन सकेन ? किन बच्चा छैनन् भन्दै राति १० बजे हिँड्यो ?
अश्मीले थप आक्रोशित हुँदै भनिन् ‘पशु हो भनेर उसको जीवनसंग खेलवाड गर्न पाइन्छ ? लापरबाही गर्न पाइन्छ ? उनीहरुको प्राण छैन ? पशु पनि मान्छेजस्तै होइनन् ? एउटा भेट डाक्टरलाई जनावरको पेटभित्र बच्चा छ छैन, विरामी छ कि के छ ? कुन अवस्थामा छ ? यस्ता कुरा एकिन हुन सक्दैन ? डाक्टर घिमिरेको लापरबाहीबाट नै बेला मरेको भन्दै आफू सबै निकायमा धाउने बताइन् । सुत्केरी भएको अवस्थामा बच्चा छैनन् भन्दै सिरिन्ज दिएर घिमिरे गएको अश्मीले बताइन् । गर्भवती भएको अवस्थामा मान्छे या पशु कसैलाई पनि कुनै सुई दिन मिल्दैन । म पनि नर्सिङ पढेकी छु । अलिअलि बुझ्छु, उनले भनिन् । ‘यसलाई कसरी पाल्थेँ ? अनमोलले कसरी हेरचाह गथ्र्यो ? परिवारको सदस्य अस्ताएभन्दा बढी पिर परेको छ मलाई’ मायादेवीसंग भक्कानिँदै भनिन् ।
आफूसंग सबै सबुत भएको बताउँदै श्रीमान अनमोलले चिकित्सक घिमिरेमाथि छानविन गर्न माग गरे । कुकर मरेपछि पारिवारिक सम्बन्ध नै बिग्रिन थालेको भन्दै अनमोलले यस विषयमा ध्यानाकर्षणको लागि सम्बन्धित निकायसंग माग गरेका छन् । पछिल्लो समय कपिलवस्तुमा भेट डाक्टरको लापरबाहीका कारण गाई, भैँसी, बाखा्र, खसी, कुखुरा चल्ला मर्ने क्रम बढेको भन्दै त्यतातर्फ पनि सबैको ध्यान जाओस् र आगामी दिनमा लापरबाही नहोओस् भनेर पनि यो विषयलाई जोडतोडको साथ उठाएको अनमोलले बताए ।
अनमोलले भने “गाउँघरमा आजभोली विरामी पशुको उपचार, गर्भ राख्ने, बच्च निकालिदिने, आदि काम पशु डाक्टर बाटै हुने गर्दछ । तर, पशु मरिहाल्यो या विग्रियो भने पशु त हो भनेर किसानले पनि मतलब गर्दैनन् । डाक्टर उम्कनै खोज्छन् । संवेदनशील बन्दैनन् । जसले गर्दा कति किसान मर्कामा परेका छन् । त्यसैले यस बिषयलाई मिडियाबाजी गर्नै पर्ने अवस्थामा म पुगेको छु ।”
बेलासंग आफ्नो पारिवारिक खुसी पनि गाँसिएकाले त्यसै बस्न नसक्ने उनले बताए । यो विषयमा नगरपालिका, प्रहरी, पशु विभाग सबै संवेदनशिल नभएकोसमेत उनले बताएका छन् । सबै ठाउँ धाउँदा कुनै पनि निकाय जवाफदेही नबनेकोमा समेत उनले चिन्ता ब्यक्त गरे । उक्त चिकित्सकमाथि अनुसन्धान हुनुपर्ने उनको माग छ । उनले घिमिरेको लाइसेन्स नभएको पनि आफूले सुनेको दावी गरेका छन् ।
‘समयमै बेलाको पेटबाट ती २ बच्चा पनि निकाल्न पाएको भए सबै बच्चा पनि बाँच्थे बेला पनि मर्दैनथ्यो । त्यसैले बेला मर्नुमा चिकित्सकको कमजोरी छ’ अश्मीले रुँदै सुनाइन् ।
यो विषयमा पशु डाक्टर विष्णु घिमिरेसंग बुझ्दा लापरबाही नभएको बताउँछन् । उनले भने ‘लापरबाही होइन, काम गर्दा कहिलेकाहीँ घटना हुनु स्वाभाविक हो । जसरी ममाथि आरोप लागेको छ, त्यो सत्य होइन ।’
अनमोल आफ्नै साथी भएको बताउँदै बेला र उनीहरुको सम्बन्ध पनि आफूलाई राम्रोसंग थाहा भएको उनले बताए । जनावर भनेर कसैलाई पनि लापरबाही गर्ने छुट नभएको भन्दै उनले आफूले सकेसम्म राम्रो हुने गरी काम गरेको बताए । धेरै ठाउँमा धेरै जटिल केस पनि समाधान गरेको अनुभव सुनाउँदै बेलामाथि लापरबाही गर्ने मनशाय नरहेको पनि उनले सुनाए । उनले भने‘कुकरको अवस्था राम्रो थियो । कुकुरले ५ भन्दा बढी बच्चा जन्माउनन् । ३ घण्टाकोबीचमा बेलाले पनि ५ वटा बच्चा जन्मायो । राति १० बजेसम्म बस्दा थप नजन्मिएपछि म हिँडेको हुँ । ४ दिनपछि पछि बेला मरेछ । म पनि दुखी छु । ’
कुकरको पेटमा अरु थप बच्चा कहाँबाट आए भन्ने मायादेवीको प्रश्नमा उनले भने‘ ‘सर्भिसको भागभन्दा ३ औँला भित्र हात छिराउन मिल्दैन । मेरो विवेकले भ्याएसम्म जाँच गरेँ । बच्चा नभएको लाग्यो अनि छैनन् भनेर हिडेँ । यसमा मेरो के दोष ?’
बेलाले ५ वटा बच्चा जन्माइसकेपछि दुखाई कम गर्ने ‘मेलोक्सिग्याम‘ नाम औषधी खुवाएर हिँडेको उनले स्विकार गरे । ‘त्यो बेला अन्य या एनिटबाइटिक खुवाएको भए मेरो कमजोरी हुन्थ्यो तर दुखाई कम गर्ने औषधी खुवाउन पाइन्छ’ उनले भने । घिमिरेले ‘मिल्सफिवर’ भएर बेला मरेको हुन सक्ने बताए । पशु ब्याउने बेला देखिने समस्या र विमार मिल्सफिवर भएको भन्दै उनले यसैको कारण कुकुर मरेको बताए । ‘अन्य ठाउँमा पनि कहिलेकाहीँ यस्ता घटना घट्ने गरेका छन् । पेटमा मरेको बच्चा लामो समयसम्म रहाँदा पनि कुकुर मरेको हुन सक्ने मेरो अनुमान छ, उनले भने । कुकर मरेको २६ गतेदेखि १ गतेसम्म कुकुरको थप अवस्थाबारे आफूलाई जानकारी नै नभएको पनि उनले मायादेवीसंग भने ।
कुकरलाई डेलिभरी गराएको १ दिनपछि काठमाण्डौँ गएको बताउँदै यो बीचमा कुकरको थप अवस्थाबारे जानकारी पाएको भए बचाउन सकिन्थ्यो कि उनले भने । उनले आफुले भेटनरी विभागबाट लाइसेन्स पाएरै विगत ३ बर्षदेखि काम गरिरहेको दाबी गरे । यो विषयलाई बढि अतिरंजित गर्न नहुने भन्दै समस्या समाधान गर्न आफु छलफलको लागि तयार भएको उनले बताएका छन् । काम गर्दा कहिलेकाहिँ कमजोरी हुने भन्दै पेटभित्रका थप २ बच्चाको अवस्था थाहा नपाउनु आफ्नो कमजोरी रहेकोसमेत उनले स्विकार गरेका छन् । आफ्नो कमजोरी भए छानविन गरी कारबाही गर्न पनि उनले पीडित पक्षलाई भनेका छन् ।
अन्य भेटनरी संचालक तथा डाक्टरलाई बुझ्दा यो विषय निकै संवेदनशील रहेको बताए । यस विषयलाई लम्बचौडा गर्नभन्दा समस्या समाधानतर्फ जान उनीहरुले दुवै पक्षलाई आग्रह गरेका छन् । नगरपालिकामा केही भेटेनरी संचालकको लापरबाहीका कारण बाख्रा, भैँसी, गाई, गोरु मर्ने , विग्रने, गरेको गुनासो आउने गरेको छ । कसबाट यस्तो कमजोरी भएको छ ? संवेदनशिल बन्न बाणगंगा नगरपालिकाका कृषि तथा पशु शाखा प्रमुख लेस बहादुर कार्कीको आग्रह छ । यदि घिमिरेको लापरबाहीकै कारण बेला नामक कुकुर मरेको भए आवश्यक कारबाही हुने र क्षतिपुर्ति दिलाउने समेत उनले बताए । यस विषयमा आफूले थप बुझ्ने उनको भनाई छ । उनले लाइसेन्स विना कुनै पनि भेटेरियनले उपचारको नाममा छुन समेत नपाउने बताए ।
प्रतिक्रिया