मायादेवी अनलाइन, चार नम्बर ।
नेकपा बिप्लव समुहले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा विहानैबाट परेको छ । केन्द्रिय सचिवालय सदस्य, कञ्चन ब्यूरो सदस्य विवेक र विशाललाई गिरफ्तार गरिएकाले तुरुन्त रिहाइको माग गर्दै विप्लव समुहले बन्द आह्वान गरेको हो ।
३, ५ र ७ माघमा देशव्यापी प्रदर्शन गरी हिजो मसाल जुलुश गरेको नेकपाले आज नेपाल बन्द आह्वान गरेपछि देशभर यसको आंसिक र पूर्ण प्रभाव परेको छ ।
विहानैबाट कपिलवस्तुमा विद्यालय, बजार, उद्योगधन्दा खुलेका छैनन् भने सडकमा सवारीको आवतजावत पनि त्यति छैन । फाट्टफुट्ट् मात्र मोटरसाइकल चलेका छन् । जिल्लाका चार नम्बर, तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, शिवगढी लगायतका क्षेत्रमा बन्द गर्न विप्लव नेता कार्यकर्ता लुकेर बसेका बताइएको छ ।
बन्द गर्न बसेका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको चन्द्रौटामा विहानै चितवनबाट दाङ जादै गरेका ना ६ ख ८१८५ नम्बरको ट्रकमाथि आगजनी गरेका छन् । प्रहरीले भने बनकसवाको मोडमा जंगलबाट बोतलले हानेको तर गाडी नजलेको दाबी गरेको छ । चालकले प्रहरीलाई बताए अनुसार बन्दकारीले गाडीमा बोतल, ढुङ्गामुडा प्रहार गरेका थिए । त्यसपछि कपिलवस्तुमा यसको प्रभाव बढी देखिएको छ ।
काठमाण्डौँ उपत्यका लगायतमा यसको प्रभाव त्यति छैन भने बाहिर भने प्रभाव परेको खबर छ । सुरक्षाको लागि बिभिन्न स्थानमा बाक्लो संख्यामा सुरक्षाकर्मी पनि परिचालन भएका छन् । बन्द काुननविपरित भएकाले जसरी पनि सुरक्षा प्रदान गरिने भन्दै प्रहरीले निर्बाध रुपमा पसल, ब्यवसाय, शैक्षिक संस्था, उद्योगधन्दा खोल्न आग्रह गरेको छ ।
प्रतिक्रिया