८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बाणगंगामा ड्रग्सको जालो तोड्दै प्रहरी, ठाकुरापुरबाट ब्राउनसुगरसहित दम्पति समातिए



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा विद्यमान लागु पदार्थ (ड्रग्स) को जालो तोड्न इलाका प्रहरी कार्यालय पिपरा सक्रिय बनेको छ । पछिल्ला केही हप्ता लागु पदार्थ कारोबारीको अखडा खोज्न अनुसन्धानरत प्रहरीले धमाधम कारोबारी समात्न सफल भएको हो ।

यसैबीच बाणगंगा ४ ठाकुरापुरबाट आइतबार लागु पदार्थको कारोबारमा संलग्न एक दम्पतिलाई नै प्रह्रीले पक्राउ गर्न सफल भयो ।

स्थानीयको गोप्य सूचनाको आधारमा प्रहरीले १ ग्राम १ सय ५० मिलिग्रामसहित ठाकुरापुरका ४२ बर्षाक पारस विश्वकर्मा र उनकी श्रीमती ३७ बर्षकी आरतीदेवी विकलाई पक्राउ गरिएको प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।

प्रहरीले आज दिउसो ४ बजे उनीहरुको घरमा खनतलासी गरेको थियो । उनीहरुको साथबाट ६६ हजार ६ सय १५ रुपैयाँ पनि बरामद गरिएको गुरुङले बताउनु भयो ।

स्थानीयले प्रहरीलाई बताए अनुसार उनीहरु लागु पदार्थ कारोबार गर्ने ठुलै गिरोहसंग संलग्न भएका छन् । थप अनुसन्धानपछि उनीहरुमाथि लागु पदार्थ नियन्त्रण ऐन अन्तर्गत मुद्धा चलाइने तयारी भइरहेको प्रहरीले बताएको छ ।

पछिल्लो ९ दिनमा प्रहरीले आज समातिएका बाहेक वडा नम्बर ४, ७ र ८ बाट ५ जनालाई नियन्त्रणमा लिइसकेको छ । तीमध्ये ३ जनाविरुद्ध मुद्धा चलिसकेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७७ आइतबार ००:००  ७ : २४ बजे