एजेन्सी ।
स्पेनिस ला लिगामा बार्सिलोनाले प्रभावशाली जीत हात पारेको छ । गएराति भएको खेलमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले दुई–दुई गोल गरेपछि बार्सिलोनाले ग्रानाडालाई ४–० ले हराएको हो ।
खेलको पहिलो हाफमा नै ३–० ले अघि बढेको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थप्यो । खेलको १२ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि ३५ र ४२ औं मिनेटमा मेस्सीले गोल गरे ।
दोस्रो हाफको ६३ औं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भयो । खेलको ७८ औं मिनेटमा भालेजोले सीधै रातो कार्ड पाएपछि ग्रानाडा १० खेलाडीमा सीमित भयो ।
जितपछि तेस्रो स्थानमा रहेको बार्सिलोनाको १८ खेलबाट ३४ अंक भएको छ भने १७ खेलबाट २४ अंकसहित ग्रानाडा सातौं स्थानमा छ । यस्तै शीर्ष स्थानको होडमा रहेको रियल मड्रिड भने रेलिगेशन जोनमा रहेको ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको छ ।
ओसासुनाको मैदानमा गोल गर्ने केही राम्रा अवसर गुमाउदा रियल अंक बाड्न बाध्य भयो । फिलोमिना आँधीका कारण खेल हुने–नहुने अन्तिम समयसम्म अनिश्चित भएको थियो । तर मैदानमा जमेको हिउँ पन्छाएर खेल सुरु गरिएको थियो ।
प्रतिक्रिया