बुटवल ।
बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मका सडक किनारका घरमा डिभिजन सडक कार्यालयले डोजर चलाएर भत्काउन थालेको छ ।
बिहानैदेखि ब्यापक प्रहरी परिचालन गरी बुटवलको ट्राफिक चोकबाट सडक मिचेर बनाएका घर टहर भत्काउन सुरु गरेको हो । अहिले बुटवलको ट्राफिक चोकमा रहेको दुर्गा मन्दिरको सटरमा डोजर लगाईएको छ ।
पटक पटक अदालतको आदेशले रोकिदै आएको सो सडकको विस्तारविरुद्ध नारायणी देवी प्रधान लगायतका २४ जनाबाट परेको पछिल्लो रिट निवेदनमा यसअघि गत ९ असारमा दिएको अल्पकालीन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।
सर्वोच्चका न्यायाधीस सपना प्रधान मल्ल र डा।मनोज कुमार शर्माको संयुक्त ईजलासले सो आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको हो ।
अदालतको आदेशसँगै बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले सडक सीमा भित्रका घरटहरा तथा त्यहाँ बनेका संंरचना भत्काउने २४ घण्टे अल्टिमेटम दिएको थियो ।
‘हामीले सडक सीमा मिचेर निर्माण गरिएका घर टहर हटाउन पटक–पटक आग्रह गरेका थियौं उहाँहरुले मान्नु भएन, त्यसैले बाध्य भएर डोजर लगाएका हौ’, डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले भने ।
प्रतिक्रिया