मायादेवी अनलाइन, चार नम्बर ।
रोट्याक्ट क्लव अफ कपिलवस्तु मिडटाउनले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट १ सय ५० बढी लाभान्वित भएका छन् । बाणगंगा बहुमुखी क्याम्पस वडा नम्बर ८ लौगाईमा शनिबार गरिएको निशुल्क छाला जाँच तथा स्वास्थ्य शिविरबाट ५ बर्षदेखि १ सय बर्षसम्मका १ सय ५० बढीले लाभ लिएका हुन् ।
वरिष्ठ छाला, यौन रोग तथा लेजर विशेषज्ञ डाक्टर सहियम अमात्य (एमबिबिएस, एमडी) ले शिविरमा आएकाहरुलाई जाँच गरी परामर्श प्रदान गर्नुभएको थियो । जाँचपछि उपलब्ध औषधी पनि निशुल्क बाँडिएको थियो ।
जाँच गराएका अधिकांसमा धेरै ठुलो समस्या नभए पनि एलर्जी, छाला चिलाउने, छालाका दाग, विमिरा, खटिरा, दुवी आदिका समस्या भएको डाक्टर अमात्यले बताउनु भयो । कोहीकोहीमा भने ठुलै समस्या भएको र आफूले उचित परामर्श दिएको पनि उहाँले बताउनु भयो ।
शिविरबाट धेरै फाइदा भएको जाँचमा आएकाहरुले बताएका छन् । विशेषज्ञ डाक्टरसंग केही परामर्श लिन आएकी बोडगाउँकी किरन भण्डारीले पनि खुसी व्यक्त गरिन् । सामान्य जाँच गराउन पनि बुटवल जानु पर्ने र पैसा अनि समय उत्तिकै खर्च भइरहेको अवस्थामा रोटर्याक्टले गरेको कार्यक्रमबाट धेरै फाइदा मिलेको भन्दै क्लवलाई धन्यबाद दिइन् ।
बाणगंगा नगरपालिकाबाट मात्र नभएर जिल्लाका अन्य पालिका तथा छिमेकी जिल्ला अर्घाखाँची र रुपन्देहीबाट पनि समस्या लिएर सर्वसाधारण आएका क्लवका अध्यक्ष वेदुराम पोख्रेलले बताउनु भयो । यसैबीच जाँचको क्रममा ५ जना कुष्ठरोगी पनि भेटिएका छन् । उनीहरुलाई पनि उचित परामर्श दिइएको डाक्टर अमात्याले बताउनु भयो ।
शिविरको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नम्बर ८ का वडाध्यक्ष गुणनिधि भुषालले निशुल्क गरिएको शिविरबाट धेरै जनालाई लाभ मिलेको बताउनु भयो । स्थानीयस्तरमा छाला तथा यौन रोग विशेषज्ञको अभाव भइ यस्तो सेवा नपाएकोमा रोट्र्याक्टले वरिष्ठ विशेषज्ञ डाक्टरबाट निशुल्क जाँच गराएको भन्दै धन्यबाद ब्यक्त गर्नुभयो । आगामी दिनमा यस्ता विशिवर संचालन गरी थप सामाजिक काममा लाग्न समेत उहाँले क्लवलाई आग्रह गर्नु भएको छ ।
कार्यक्रममा बाणगंगा बहुमुखी कयाम्पसका प्राचार्य डिबी रेश्मी, बाणगंगा माविका प्रधानाध्यापक कुलराज पौडेल, नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुका अध्यक्ष शंकर पौडेल, टाइम फर्मास्युटिकलका यरिया म्यानेजर दधिराम पाण्डे, एम आर खेम पौडेल लगायतको सहभागिता थियो भने रोटरी क्लव अफ कपिलवस्तु मिडटाउन, नवप्रभात सामुदायिक वन, मधुवन सामुदायिक वन, श्रीङ्गीघाट सामुदायिक वन, त्रिशक्ति सामुदायिक वन, हिलवर्ट बोर्डिङ, मेरी स्टोप्स तौलिहवा, घरघरमा शिक्षा तथा आत्मनिर्भर संस्था, कालिका स्वावलम्बन लगायतले सहयोग गरेका थिए ।
क्लवका इलेक्ट प्रेसिडेण्ट समिर सायरको संचालन तथा अध्यक्ष पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष माधव पौडेल, निवर्तमान अध्यक्ष गणेश कार्की लगायतले बोल्नु भएको थियो ।
प्रतिक्रिया