काठमाण्डौ ।
नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयातका लागि अनुमति पाएको छ । भारतको केन्द्रिय विद्युत प्राधिकरण सीईएले टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो । विद्युत प्राधिकरणले टनकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो । सीईएले अनुमति दिएसँगै अब आवश्यक परेको बेला टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने नेपाल विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो ।
प्राधिकरणले टनकपुरबाट खरिद गर्ने विद्युतको प्रतियुनिट मूल्य ६ रुपैयाँ ६२ पैसा रहेको छ । नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट विद्युत निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ । प्रसारण लाइनको क्षमताले नधान्दा पूर्वबाट पश्चिमतर्फ विद्युत पठाउन नसकिरहेको अवस्थामा टनकपुरबाट थप विद्युत् ल्याउन पाएपछि अब पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार आउने कामु कार्यकारी निर्देशक शाक्यको भनाई छ ।
टनकपुरबाट थप आयात गर्न सकिने भएपछि पश्चिम पठाएको विद्युतलाई काठमाण्डौ उपत्यका र पूर्वतर्फ आपूर्तिका लागि पठाउन सकिने पनि शाक्यले बताउनुभयो । यसैबीच प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यले लुम्बिनी प्रदेशको विद्युत् आपूर्ति तथा सेवा प्रवाहमा सुधार गर्न, चोरी नियन्त्रणमा आक्रामक हुन र विद्युतीकरणमा जोड दिन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । शाक्यले बुधबार, बिहीबार र शुक्रबार लुम्बिनी प्रादेशिक कार्यालय, बुटबल ग्रिड कार्यालय, औद्योगिक क्षेत्र, निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गर्नु भएको थियो ।
प्रतिक्रिया