विक्रम विश्वकर्मा, तौलिहवा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते गरेको संसद विघटनप्रति आपत्ती जनाउदै शुक्रबार जिल्ला प्रशासन कार्यलय कपिलवस्तुमा विरोध पत्र बुझाएको छ ।
नेपालको संविधानको ठाडो उल्लंघन गरी असंवैधानिक, अलोकतान्त्रिक एव्म स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गर्र्र्ने प्रधानमन्त्रीको प्रतिगामी कदमप्रति भत्र्सनासहित विरोध पत्र बुझाएको हो ।
बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरिएको ऐतिहासिको राजनैतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न, वर्तमान असंवैधानिक कदम तथा सबै प्रकारको प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र त्यसको लागि जस्तोसुकै संघर्ष गर्न नेपाली जनता सक्षम रहेको नेकपा कपिलवस्तुका सचिव रामचन्द्र शाह (विष्णु) द्धारा हस्ताक्षरित विरोध पत्रमा उल्लेख गरिएको छ ।
संविधानले प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नदिएको जानकारी हुदाँ समेत विघटन गरेको भन्दै संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ लाई पुनः अध्ययन गर्न आग्रह गर्दै सो धाराको प्रति समेत विरोध पत्रसहित पठाएको छ ।
नेकपा कपिलवस्तुले प्रधानमन्त्रीलाई सच्चिनका लागि अवसर दिदै असंवैधानिक कदमका निम्ति पश्चातापका साथ राष्ट्रका सामु क्षमा याचना गर्न र प्रतिनिधि सभालाई सुचारु गरी संविधानलाई कृयाशील बनाउन समेत अनुरोध गरेको विरोध पत्रमा उल्लेख गरिएको छ ।
विरोध पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सम्बन्धित निकायमा आजै पठाउने जानकारी दिनु भएको छ ।
प्रतिक्रिया