काठमाण्डौ ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी नेकपा को प्रचण्ड–माधव समूहले देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ । नेकपा प्रचण्ड–माधव समूहले गठन गरेको केन्द्रीय सङ्घर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान–२०७२ पठाएको हो ।
काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेको काठमाण्डौ जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठाएको छ । नेकपा काठमाण्डौ जिल्ला कमिटीका इञ्चार्ज सावित्रा भुसालले केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा प्रधानमन्त्री ओलीलाई विरोधपत्र र नेपालको संविधान बुझाइएको बताउनुभयो । संविधानको पुस्तक पठाउन नेताहरू प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्धमा सङ्घर्ष गरौँ लेखिएको ब्यानरसहित काठमाण्डौ जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेका थिए ।
प्रतिक्रिया