८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाणगंगा नगरपालिकाको केन्द्रमै यस्तो विजोग ! दिनहुँ दुर्घटना, हेर्ने को ?



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगा निवासी एलिसा शर्मा विहिबार राति काम विशेषले बाहिर निस्किइन् । उनलाई सिद्धिपुरस्थित होराइजन स्कुलनेर आफन्तकहाँ जाने काम थियो । साँझको करिब साढे ६ बजेको समय थियो । चार नम्बर तौलिहवा रोडस्थित बुद्धभूमि हार्डवेयर तलतिरबाट पश्चिमतिर लाग्ने बाटोमा उनी साइकलबाट मोडिइन् । तर थोरै अगाडी पुग्नासाथ उनी साइकलबाट पल्टिइन् ।

उनी चढेको साइकलको अगाडीको चक्का त्यही बाटोमा रहेको कल्भट (सिमेन्टको सानो धुरो) मा परेको भ्वाङमा पर्यो । उनी बल्लतल्ल उठिन् । उनको घुँडा र हातमा चोट लाग्यो । भाग्यले उनी ठुलो दुर्घटनाबाट बचिन् ।

यो बाटोको विजोगको विषयमा उनले मायादेवी अनलाइनलाई फोन गर्दै भनिन् ‘बाटोमा यस्तो विजोग् छ, पत्रकारले पनि नहेर्ने ? झण्डै मरिएन । पत्रकार ज्यू कृपया यो बाटोको विजोग्को विषयमा बाहिर ल्याइदिनु पर्यो ।’

त्यसपछि हामी त्यहाँ पुग्यौँ । त्यहाँको स्थिति हेर्दा साँच्चिकै विजोग देखियो । सिद्धिपुर, चार नम्बर, झुँगा र ठाकुरापुरबासीको आवतजावत भइरहने त्यहाँ कलभटको बीचमै ठुलो भ्वाङ परेको छ ।

एलिसा मात्रै होइन त्यहाँ अरु पनि दुर्घटनामा पर्ने गरेका स्थानीयले मायादेवीसंग बताए । लामो समयसम्म कसैको पनि ध्यान नपुग्दा त्यहाँ दैनिक दुर्घटना निम्तने गरेको छ । अझ रातिको समयमा त्यहाँ धेरै दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।

स्थानीय गणेश कार्कीले साइकल र मोटरसाइकलमा हिँड्नेलाई बढी दुर्घटनाको जोखिम छ । भने पैदल यात्रा गर्ने बालबालिका र वृद्धवृद्धालाई पनि दुर्घटनाको उत्तिकै जोखिम रहेको उहाँ बताउनु हुन्छ ।

यत्ति मात्र होइन होराइजन स्कुलको वस आवतजावत गर्ने व्यस्त थलो पनि त्यही हो । सयौँ विद्यार्थी त्यही बाटो भएर दैनिक आवतजावत् गर्छन् । तर कलभट भत्केको १५ दिनभन्दा बढी हुँदा समेत त्यहाँ कसैको ध्यान गएको छैन । स्कुल वस पनि अहिले त्यो बाटो छोडेर माथिबाट मोडिने गरेको छ । स्कुलको पनि यस बाटो मर्मतमा ध्यान छैन । नगरका प्रतिनिधि पनि यही बाटो दिनहुँ हिँड्ने गरे पनि देख्दैनन् ।

मायादेवीले यस बाटोको विजोग्को विषयमा वडा सदस्य इन्दिरा पन्तलाई अवगत गराएपछि ध्यानाकर्षण भएको छ । वडा सदस्य पन्तले यो विषयमा वडाध्यक्ष र आफूलाई थाहा नभएको भन्दै चाँडै यसको मर्मत गर्ने बताउनु भयो ।

आफूहरु जनताको काममा रातदिन व्यस्त भइरहनु पर्ने तर यस्ता विषयमा समयमा जानकारी नगराउँदा कहिलेकाँही चाँडै गर्ने काममा पनि ढिलाई हुने गरेको वडा सदस्य पन्थले बताउनु भयो ।

बाटो विग्रिएको यति धेरै समय हुँदा पनि जनप्रतिनिधि र सरोकारवालाको ध्यान नजाँदा गाउँलेलेसमेत नगरपालिकाको आलोचना गरेका छन् । वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले चाँडै यसको मर्मत गरिने मायादेवीसंग बताउनु भयो ।

नगरले यस्ता बाटोको मर्मत सम्भारको लागि भन्दै लाखौँ बजेट विनियोजन गरे पनि समयमै काम नगर्ने परिपाटीले बिभिन्न क्षति निम्तने गरेको सरोकारबाला बताउँछन् । यस्ता समस्यामा जनताले भनेपछि मात्र या दुर्घटना निम्तिएपछि मात्र काम गर्ने जनप्रतिनिधिको संस्कार कहिल्यै हट्न नसकेकोमा स्थानीयले चिन्तासमेत ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७७ शुक्रबार ००:००  ९ : ३४ बजे