८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

महिलाकै संरक्षणमा बाणगंगामा लागु औषधको कारोबार, ब्राउन सुगरसहित एक युवक पक्राऊ



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट लागु पदार्थ (ब्राउनसुगर) सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । वडा नम्बर ४ होराइजनचोकस्थित एक घरबाट लागु औषध कारोबार गरिरहेको अवस्थामा वडा नम्बर ३ ठाँटीका ३१ बर्षका रिषी थारुलाई रंगे हात पक्राऊ गरिएको हो ।

गोप्य सूचनाको आधारमा अनुसन्धानमा गएको इलाका प्रहरी कार्यालय पिपराको टोलीले विहिबार साँझ करिब ६ बजेको समयमा थारुलाई १ ग्राम ९५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरी निरिक्षक( इन्सपेक्टर) दिनेश गुरुङले बताउनु भयो ।

थारु स्थानीय रिना सेनको घरमा काम गर्ने बाहानामा बसेको र लागु औषधको कारोबारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको गुरुङले बताउनु भयो । लागु औषध कारोवारमा रिना सेन पनि संलग्न रहेको हुन सक्ने प्रहरीले बताएको छ । उनकै संरक्षणमा त्यहाँ यस्तो अपराध भएको प्रहरी बताउँछ ।

गुरुङका अनुसार स्थानीयको गोप्य सूचनाको आधारमा सो क्षेत्रमा दिनभर अनुसन्धान गरिएको थियो । त्यसपछि एक घरमा लागु औषधको कारोबार नै हुने गरेको पत्ता लगायौँ गुरुङले भन्नुभयो ‘एक जनालाई रंगे हात समातेपछि कारोबार हुने प्रमाणित भयो ।

कोरोबारीमध्ये एक जनाले दिउसै घरको बाहिरी झ्यालबाट लागु पदार्थ सप्लाई गर्ने गरेको पनि प्रहरीले बताएको छ । त्यो देखेपछि प्रहरीले सो घरमा खान तलासी पनि गरेको थियो । उक्त घरमा पटकपटक यस्तो घटना घट्ने गरेको छ । स्थानीयबासीले पनि उनकै संरक्षणमा त्यहाँ लागु पदार्थको कारोबार हुने गरेको छ । नाम नभन्ने शर्तमा एक जनाले गाउँका युवायुवतीले पनि त्यहाँबाट लागु औषध किनेर प्रयोग गर्ने गरेको मायादेवीसंग बताए ।

नियन्त्रणमा लिइएका थारुमाथि थप अनुसन्धान भई लागु पदार्थ ओसार पसार तथा नियन्त्रण ऐन अनुसार कारबाही हुने पनि प्रहरीले जनाएको छ । केही दिन अघि पनि प्रहरीले वडा नम्बर ८ बोडगाउँबाट २ जनालाई ब्राउनसुगरसहित पक्राऊ गरिएको थियो ।

बाणगंगामा लागु औषधको खुलेआम कारोबार हुने गरेको स्थानीयबाट सूचना आइरहेकाले यसमा प्रहरी चनाखो रहेको गुरुङले बताउनु भयो । लागु औषध कारोबार तथा प्रयोग अपराधहरुको जननी भएकाले क्षम्य हुन नसक्ने पनि उहाँको भनाई छ । यसको जालो तोड्न आफूले पुरै शक्ति प्रयोग गर्ने पनि उहाँले बताउनु भयो । गुरुङले यस्तो अपराधमा सामाजिक संरक्षण झनै ठुलो अपराध हुने बताउनु भयो ।

प्रकाशित मिति : २४ पुस २०७७ शुक्रबार ००:००  ८ : २९ बजे