एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्काल सत्ताबाट हटाउनु पर्ने माग गर्नेहरु बढ्न थालेका छन् ।
ट्रम्पका समर्थकहरुले संसद भवनमा आक्रमण गरि हिंसात्मक गतिविधि गरेपछि यस्तो माग हुन थालेको हो । नोभेम्बर ३ मा भएको चुनावको नतिजा अस्वीकार गरि बिना प्रमाण धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले आफ्ना समर्थकलाई हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोप लागेको छ ।
संसद भवन र त्यस वरपर भएको हिंसात्मक गतिविधिमा चारजनाको ज्यान गएको छ । ट्रम्पको उक्साहटमा भएको प्रदर्शन आन्तरिक आतंकवाद रहेको र त्यसका लागि ट्रम्पलाई तत्काल हटाउनु पर्ने सांसद म्याडलेइनी डिनले सदनमा माग गरिन् ।
ट्रम्पका मन्त्री मण्डलमा पनि संविधानको २५ औँ संशोधनमा रहेको व्यवस्थालाई लागु गरेर ट्रम्पलाई सत्ताबाट हटाउनु पर्ने माग उठेको हो ।
सन् १९६७ मा प्रमाणिकरण भएको संविधानको २५ औँ संशोधनमा राष्ट्रपतिलाई तत्काल सत्ताबाट हटाउन सक्ने व्यवस्था छ । सन् १९६३ मा जोन एफ केनेडीको हत्या भएपछि सो संशोधन ल्याइएको हो ।
सो संशोधनको सेक्सन ४ मा राष्ट्रपतिले आफ्नो काम गर्न नसकेको र स्वतन्त्र रुपमा पद नछोडेको अवस्थामा हटाउन सक्ने व्यवस्था रहेको छ ।
२५ औँ संशोधनको व्यवस्था अनुसार शारीरिक वा मानसिक रुपमा राष्ट्रपति काम गर्न नसक्ने अवस्थाको भएमा हटाउन सकिने व्यवस्था रहेको छ ।
तर केही विज्ञहरुले राष्ट्रपति देशका लागि गम्भीर रुपमा खतरनाक देखिएको अवस्थामा पनि सोही व्यवस्था अनुसार हटाउन सकिने बताएका छन् । संसद भवनमा भएको आक्रमण आन्तरिक आतंकवाद रहेको र त्यसका लागि राष्ट्रपति ट्रम्प जिम्मेवार रहेको भन्दै सत्ताच्यूत गर्नु पर्ने माग उठेको हो ।
राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले दुई हप्तापछि अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन् । यो दुई हप्ताको अवधि पनि ट्रम्पलाई सत्तामा राख्न नहुने माग गरेकाहरुले उनलाई सत्ताबाट हटाएर सत्ताको जिम्मा उपराष्ट्रपति माइक पेन्सलाई दिइनु पर्ने माग गरिएको हो ।
प्रतिक्रिया