८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रदूषण घटेर आकाश खुल्न थाल्यो, देशभरको मौसम यस्तो छ



काठमाण्डौ । बादल हटेपछि काठमाण्डौसहित देशका विभिन्न ठाउँमा बढेको प्रदूषण बिस्तारै घट्न थालेको छ । हिजोदेखि प्रदूषण घट्न थालेको हो । हिजोको तुलनामा आज काठमाण्डौ अझै सफा देखिएको छ ।

आकाश खुलेर प्रदूषित हावा बाहिर गएकाले प्रदूषणको स्तर घटेको वातावरणविद् भूषण तुलाधरले जानकारी दिनुभयो । तर प्रदूषण कम भए पनि जाडो महिनामा प्रदूषण को उत्पादन धेरै हुने भएकाले पूर्णरुपमा हट्ने सम्भावना भने नरहेको वातावरणविद् तुलाधरले बताउनुभयो । जाडो छल्नका लागि आगो बाल्ने, फोहोर जलाउनेलगायतका काम जाडो महिनामा धेरै हुने गर्छ । यस्तै जाडो महिनामा इँट्टाभट्टाहरु पनि सञ्चालन हुने भएकाले प्रदूषण बढी हुने गर्छ ।

आजको मौसम
आकाश खुलेपछि फेरि चिसो बढ्न थालेको छ ।सोमबार र मंगलबार बादल लागेको बेला काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेकोमा हिजोदेखि फेरि तापक्रम घट्न थालेको हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस थियो । आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आकाश खुलेकाले न्यूनतम तापक्रम घट्दै र चिसो बढ्दै जाने मौसमविद्ले बताएका छन् । हिजोदेखि मौसम खुलेकाले न्यूनतम तापक्रम हिजोभन्दा आज घट्न सक्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आजदेखि अबको १, २ दिन न्यूनतम तापक्रम घट्दै जाने सम्भावना छ । काठमाण्डौ उपत्यकाबाहिर पनि चिसो बढ्ने मौसमविद्को भनाइ छ । अघिल्लो हप्तासम्म माइनसबाट ओरालो लागेको उच्च पहाडी तथा हिमाली क्षेत्रको तामपक्रम अस्ति बादल लागेपछि बढेको थियो । तर आकाश खुलेपछि फेरि तापक्रम घट्न थालेको छ ।

प्रकाशित मिति : २३ पुस २०७७ बिहिबार ००:००  ८ : ११ बजे