मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश सांसद विष्णु पन्थीले गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले शुद्ध खानेपानी वितरण गरेर महत्वपूर्ण काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ ।
उहाँले सरकारको लगानी विना १२ सय घरधुरी उपभोक्तालाई खानेपानी वितरण गरेर समितिले सरकारले गर्ने काममा महत्वपूर्ण काम गरेको भन्दै चर्चा गर्नुभयो ।
गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको तेश्रो वार्षिक साधारण सभालाई सम्वोधन गर्दै सांसद पन्थीले उपभोक्ताको माग र समस्यालाई आफुले आउने वर्ष भित्र क्षमता विस्तारमा पानी ट्याकी निर्माणका लागि आवश्यक बजेटको प्रबन्ध गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
हाल २ लाख ५० हजार लिटरको पानी ट्याकीको क्षमताबाट विस्तार गरी ५ लाख लिटरको पानी टंकी निर्माणका लागि प्रदेश सरकारबाट आफुले पहल गर्ने पन्थीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथीको आसनबाट वोल्दै सांसद पन्थीले एक घर एक धारा प्रदेश सरकारको लक्ष्य रहेकाले यस नगरपालिकाका विभिन्न वडामा पानी टंकी निर्माण भइरहेको समेत जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय बजारीकरण र शहरीकरण संगै फोहोरमैलाको व्यवस्थापनमा चुनौती थपिएकोले समयमै स्थानीय सरकारले सरसफाईमा विशेष योजना ल्याउन जोड दिनुभयो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले नगरवासीलाई शुद्ध खानेपानी पु¥याउन नगर प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले नगरमा खानेपानी उपभोक्ता समितिसंग सहकार्य गरेर सरसफाईका कार्यक्रमहरु अघि बढेको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष बालकुमारी अधिकारी, गणेश बहादुर क्षेत्री लगाएतले आफनो वडाबाट उपभोक्ता समितिलाई सक्दो बजेट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा समितिका अध्यक्ष राजकुमार खाँणले आर्थिक समस्याका कारण खानेपानी विस्तार गर्न समस्या भएको बताउनुभयो ।
समितिका सचिव बुद्ध शाहीले वार्षिक प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष नमुना पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समितिले दुर्घटनामा परी घाइते भएका पूर्व कर्मचारी बलदेव चौधरी नगद सहित सम्मान गरेको छ । समितिको तर्फबाट नुन बहादुर विसी लगाएतले आ आफना समस्या राखेका थिए ।
प्रतिक्रिया