८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रदेश २ मा संसदीय दलको नेताबाट मण्डललाई हटाइयो, महतो बने दलको नेता



जनकपुरधाम ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ नम्बर प्रदेश संसदीय दलको नेतामा शत्रुघन महतो प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलको नेता बनेका छन् । नेकपा प्रदेश संसदीय दलको नेतामा नवनिर्वाचित महतोलाई प्रदेशसभा सचिवालयले प्रमुख विपक्षी दलको नेताको मान्यता दिएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सत्यनारायण मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा प्रदेश संसदीय दलको बैठकबाट पारित भएको थियो । नवनिर्वाचित नेता महतो प्रचण्ड–नेपाल पक्षीय नेता हुन् ।

मण्डलविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि नयाँ नेता छान्न मंगलवारै निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो । निर्वाचन कार्यक्रम अन्तर्गत मंगलवार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेकाले निर्विरोध चयन गरिएको निर्वाचन संयोजक जगतप्रसाद यादवले बताए ।

महतोलाई दल नेता चयन गर्न बहुमत १९ जना सांसदको समर्थन रहेको उपनेता रामकुमार यादवले बताए । प्रदेशमा नेकपाका ३२ जना सांसद छन् ।

प्रधानमन्त्री ओली पक्षधर मण्डल लगायतका सांसद दलको बैठकदेखि निर्वाचन प्रक्रियासम्म सहभागी भएका छैनन् ।

मंगलवारै बसेको नेकपा प्रदेश संसदीय दलको बैठकले मण्डल विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको थियो । उपनेता रामकुमार यादवको अध्यक्षतामा बसेको दलको बैठकले अविश्वास प्रस्ताव पारित गरेको थियो ।

तस्बीरः नेकपाको दलको नेतामा निर्वाचित शत्रुघन महतो ।

प्रकाशित मिति : २१ पुस २०७७ मंगलबार ००:००  ५ : ०३ बजे