काठमाडौं ।
काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै कम भएको छ । आज काठमाण्डौ उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि गएको पुस तीन गते काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन गरिएको थियो । हिजो काठमाण्डौको तापक्रम २ दशमलव ५ डिग्री रहेको थियो ।
आज भने काठमाण्डौको तापक्रम अहिलेसम्मकै कम मापन गरिएको र तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । आज काठमाण्डौ उपत्यकासहित प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा दिउँसो बादल लाग्ने मौसमविद्को अनुमान छ ।
पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशबाहेकका ठाउँहरुमा मौसम भने सामान्यतया सफा रहेको छ । आज राति भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसम बद्ली हुने अनुमान छ ।
प्रतिक्रिया