मायादेवी अनलाइन, वाणगंगा ।
संविधानले सामुदायिक विद्यालयमा कक्षा १२ सम्मलाई निशुल्क पढाउने भनेपनि कपिलवस्तुमा यसको व्यवहारिक कार्यान्वयन नभएको पाइएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं. १ बग्दीमा रहेको पूर्ण केशर माध्यमिक विद्यालयले कक्षा ९ र १० का विद्यार्थीसंग न्यूनतम शूल्क लिदैं आएपनि यसको व्यवहारिक कार्यान्वयन नभएको पाइएको हो ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले शुक्रबार विद्यालयमा राखेको शिक्षामा स्थानीय सरकारको प्राथमिकता सार्वजनिक बहस कार्यक्रममा उपस्थित विद्यार्थीले उक्त कुराको खुलासा गरेका हुन् । ‘अनिवार्य निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ’ नारा तय गरि राखिएको उक्त कार्यक्रममा सहभागी विद्यार्थी सुन्दरी लोनियाले विद्यालयमा आफुहरुले मासिक शुल्क बुझाउनुपर्ने स्थिति रहेको सुनाउनुभयो ।
हरेक विद्यार्थीबाट विद्यालयले मासिक शुल्क उठाउने गरेको खुलासा गर्दै लोनियाले कोरोना भाइरसका कारण ६ महिना स्कूल बन्द भएको अवस्थामा पनि विद्यालयले आफुहरुसंगबाट शुल्क लिएको बताउनुभयो ।
यति मात्र होइन उहाँले स्कूल जाने मन हुँदा हुँदै पनि कयौं किशोरीहरु पढ्नबाट बञ्चित भएको बताउनुभयो । स्कूल जान्छु भन्दा अभिभावकले छोरीलाई स्कूल नपठाउने गरेको उहादरण दिदैं छात्रा लोनियाले यो विषयलाई गम्भीरतापूर्वक लिएर त्यस्ता अभिभावकलाई सम्झाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी महोम्मद मुसलमानले विद्यालयका शिक्षक समयमै नआउने गरेको भन्दै कस्ले हो निगरानी गर्ने भन्दै प्रश्न राख्नुभयो । शिक्षक समयमा विद्यालय नआउँदा विद्यार्थीको पढाईमा असर पुगेको उहाँको भनाई थियो । विद्यालयका छात्रालाई केटाले जिस्काउने गरेको कारण पनि कयौं किशोर विद्यार्थी छोड्न बाध्य भएको भन्दै त्यतातिर सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
‘किशोरीहरुलाई केटाहरुले जिस्काउदा पनि विद्यालय छाड्ने बढेका छन् । कसैले जिस्काएको देखेपनि नदेखे झै गर्ने बानी छ । आफ्नै छोरी ठानेर जिस्काउनेमाथि देख्नेले कारबाही गर्ने हो भने चेलीबेटीले असुरक्षित महसुस गर्ने थिएनन्, मुसलमानले भन्नुभयो, यतातिर खै स्थानीय सरकारको ध्यान गएको ?’
कार्यक्रममा सार्वजनिक शिक्षामा विभिन्न समस्या र चुनौती रहेको स्विकार गर्दै आफुहरुले सोचेजस्तो नतीजा ननिस्कनुमा थुप्रै आधारहरु रहेकोे तर्क प्रस्तुत गरेका थिए ।
शिक्षक दुर्गाप्रसाद न्यौपानेले केन्द्रिकृत शिक्षा नियमावलीले पनि सार्वजनिक शिक्षामा अवरोध सिर्जना गरेको बताउनुभयो । शिक्षक अनुपातका आधारमा विद्यार्थी संख्यामा हुनुपर्नेमा त्यसो नभएको भन्दै यो समस्याको समाधान कहिले हुने हो भन्दै प्रश्न राख्नुभएको थियो । अब स्थानीय सरकारले शिक्षाको रेखदेख गर्नुपर्नेमा उहाँको जोड थियो ।
विद्यालयकी प्रधानाध्यापक लिला खनालले विद्यार्थी संख्याको उलेख्य रहेको भन्दै शिक्षक अभावको कारण बाध्य भएर न्यूनतम शुल्क उठाउन बाध्य भएको बताउनुभयो । ‘राज्यले विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी दिएको छैन् । विद्यार्थीको बर्षेनी विद्यालयमा चाप छ । निजी स्रोतका शिक्षकलाई तलव खुलाउने अन्य आधार छैन्, प्रधानाध्यापक खनालले भन्नुभयो, शूल्क लिनु रहर होइन् बाध्यता हो ।’
शुद्धोधन गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख धनिराम शर्माले भर्खर स्थापना भएका स्थानीय सरकारले शिक्षाको क्षेत्रमा क्रमश सुधारका काम गर्दै जान थालेको बताउनुभयो । शुद्धोधनले पनि शिक्षाको क्षेत्रमा थुप्रै नयाँ काम गरेको भन्दै अब विद्यालयको भौतिक संरचना लगभग पूरा भैसकेको भन्दै गुणस्तरीय शिक्षा तर्फ ध्यान केन्द्रित हुन थालेको बताउनुभयो । कार्यक्रममा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुबाट विभिन्न समस्या र सुझावहरु आएके भन्दै आफुले उक्त कुरालाई गम्भीरपूर्वक सुनेको बताउनुभयो ।
वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका तिलकराम यादवले आगामी शैक्षिकसस्त्र (०७८) बाट विद्यालयले विद्यार्थीबाट कुनै शुल्क नलिने घोषणा गर्नुभएको छ । विद्यालयमा गत शैक्षिकसस्त्रबाट कक्षा ११ र १२ सञ्चालन गर्न थालिएको कारण विद्यार्थीबाट न्यून मात्रामा शुल्क उठाएर शिक्षकलाई तलव दिने गरिएको भएपनि अब देखि त्यो तलव वडाले व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको शिक्षाका लागि राष्ट्रिय अभियानका लुम्बिनी प्रदेश संयोजक तथा कपिलवस्तु अध्यक्ष हरि अधिकारीले सहजीकरण गर्नुभएको थियो । उक्त अवसरमा विभिन्न क्षेत्रका सरोकारवाहरुले सार्वजनिक शिक्षामा देखिएका समस्या, चुनौति र समाधान गर्न सकिने सुझाव राखेका थिए ।
प्रतिक्रिया