८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वाणगंगाद्धारा नगर शिक्षा योजनाबारे सरोकारवालाको सुुझाव संकलन



दीपा महत, वाणगंगा ।
नगर शिक्षा योजनाबारे वाणगंगा नगरपालिकाले सरोकारवालासंग छलफल थालेको छ । वाणगंगा नगरपालिकाको आयोजना तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्यमा नगरपालिकाले बनाउन लागेको नगर शिक्षामा के कस्ता विषयवस्तुहरुलाई समेट्न सकिन्छ भनेर यस क्षेत्रका शैक्षिक तथा सरोकारवालाहरुको सुझाव संकलन गरेको हो ।

बन्दै गरेको नगर शिक्षामा विभिन्न विषयवस्तुहरु समेट्न यस क्षेत्रका सरोकारवालाहरुले शुक्रबार सुझाव दिएका छन् ।

कार्यक्रममा सुझाव राख्दै सिद्धार्थ क्याम्पसका क्याम्पस प्रमुख खेमराज शर्माले नगरपालिकाले तहगत शैक्षिक नक्सा बनाउनुपर्ने भन्दै आधारभूत तहलाई विशेष जोड दिन सुझाव दिनुभयो । आधारभूत तहलाई अझ सशक्त बनाएमा शिक्षाको जग नै बलियो हुने शर्माको सुझाव थियो ।

शिक्षक महासंघ वाणगंगाका अध्यक्ष तथा वाणगंगा माविका प्रधानाध्यापक कुलराज पौडेलले शैक्षिक पूर्वाधार र भौतिक पूर्वधारको पक्षमा तुलनात्मक मुल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।

वाणगंगा माविका प्रधानाध्यापक राम प्रसाद भण्डारीले समतामा आधारित बजेट विनियोजन गर्नुपर्ने भन्दै यो नहुँदा विद्यालयको गुणस्तरमा असर परेको बताउनुभयो । भण्डारीले स्थानीय मौलिक उत्पादनलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने भन्दै अबको शिक्षा बेरोजगार उत्पादन गर्नेकी ब्यवहारीक शिक्षा दिने भन्नेमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।

पञ्च आधारभूत विद्यालयका प्रधानाध्यापक जगत रेग्मीले शिक्षक र विद्यार्थी दुबैमा नैतिक ब्यवहार हुनुपर्ने बताउनुभयो । उहाँले विद्यालयमा राजनीति गर्न नहुने भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने र नराम्रोमाथि कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।

शैक्षिक ब्यक्तित्वहरु दिब्य पौडेलले विद्यालयलाई सामुदायिक विद्यालयमा वृद्धिको योजना पेश गर्नुभयो ।

कृष्ण टण्डनले दैवी प्रकोप आउँदा पनि वर्तमान शिक्षालाई निरन्तर लैजान सक्नेगरी योजना बनाउनुपर्ने बताउनुभयो ।

नगर शिक्षा योजनाबारे सुझाव राख्दै सामाजिक अभियान्ता प्रकाश घिमिरेले सामाजिक कुरितीले शिक्षामा असर पार्ने भन्दै त्यस्ता कुरीतिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

नगर शिक्षा योजनाबारे नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले पनि विभिन्न सुझावहरु राख्नुभएको छ ।

वडा नम्बर ९ का वडाध्यक्ष धु्रव बेल्वासेले प्राविधिक शिक्षाको साथ ब्यवसायिक शिक्षालाई पनि जोड्नुपर्ने बताउनुभयो ।

वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेलले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम भएकाले विद्यार्थी संख्या बृद्धि गराउन तर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।

वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्यालले सिद्धार्थ सामाजिक विकास केन्द्र अन्तरगत संचालित सिड्स कार्यक्रमको संबाद कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।

वडा नम्बर ८ का वडाध्यक्ष गुणनिधी भुसालले विद्यालयमा शैक्षिक जनशक्तिको ब्यवस्था गर्नुपर्ने बताउभयो ।

नगर कार्यपालिका सदस्य सरितादेवी ढकालले अहिलेको समयमा नैतिक शिक्षा आवश्यक रहेकाले यसलाई पनि नगर शिक्षामा समावेश गर्नुपर्ने बताउनुभयो ।

यसैगरी कार्यक्रममा नगरका अन्य विषयगत कार्यालयका प्रमुखहरुले पनि आ आफ्नो सुझाव राख्नुभएको छ । महिला तथा बालबालिका शाखा प्रमुख सुशीला पन्थले समाजमा रहेका बाल बिवाह, दाइजो प्रथा, बहुबिवाह तथा लागु औषध लगायतका समस्या न्यूनिकरणका लागि स्थानीय पाठ्यक्रममै समाबेश गर्नुपर्ने बताउनुभयो ।

वाणगंगा नगरपालिका कृषि शाखा प्रमुख लेष बहादुर केसीले ब्यवहारीक तथा ब्यवसायीक शिक्षालाई नगर शिक्षा योजनामा समेटनुपर्ने बताउनुभयो । साथै सामुदायिक विद्यालयमा पढाउने शिक्षकले छोराछोरीलाई पनि सामुदायिक विद्यालयमै पढाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा सरोकारवालाहरुले राखेका विभिन्न सुझावहरुमाथि छलफल पश्चात आवश्यक सुझावलाई नगर शिक्षामा समावेश गर्ने नगर उपप्रमुख चक्र अर्यालले आश्वासन दिनुभएको छ ।

उपप्रमुख अर्यालले शिक्षालाई गुणस्तर बनाउन सबैभन्दा महत्वपूर्ण भूमिका शिक्षकको हुने भन्दै यस तर्फ ध्यान दिन सम्पूर्ण शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । विद्यालयमा शैक्षिक गुणस्तरीयताको जिम्मा शिक्षकले लिएमा नगरपालिकाले स्रोत साधनको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले राम्रो काम गर्ने विद्यालयलाई नगरपालिकाले प्रोत्साहनका साथै बजेट विनियोजन गर्ने भन्दै बजेटको सहि सदुपयोग हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम भट्टराईले सरोकारवालाहरुले राखेका विभिन्न सुझावहरुलाई अध्ययन गरी यसबारे आवश्यक छलफल गरिने बताउनुभएको छ । त्यसका लागि शाखा प्रमुख भट्टराईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ । जसको सदस्यमा खिम बहादुर जिसी, रोमकान्त घिमिरे, टिकाराम पौडेल, रामप्रसाद भण्डारी, जगतराज रेग्मी, कविराज भण्डारी र कृष्ण टण्डन रहनुभएको छ ।

कार्यक्रम उप-प्रमुख अर्यालको अध्यक्षता र वाणगंगा शिक्षा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १० पुस २०७७ शुक्रबार ००:००  ७ : ५२ बजे