चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
पछिल्लो समय तीव्र रुपमा विकास भइरहेको कपिलवस्तुको बाणगंगा नगरपालिकामा अब सुविधासम्पन्न चलचित्र हल पनि संचालनमा आउने भएको छ । नगरको वडा नम्बर १ मा विगत १ बर्षदेखि निर्माणको चरणमा रहेको सुविधासम्पन्न ‘ओएसिस सिनेमाज’ अब छिटै सुरु हुन लागेको हो । निर्माणको ८५ प्रतिशत बढी काम सम्पन्न भए पनि कोरोनाको कारण रोकिएको संचालक मध्येका एक नविन भण्डारीले मायादेवी अनलाइनलाई बताउनु भयो ।
शुक्रबारबाट हल संचालनको अनुमति आएसंगै अब आफूहरु पनि थप उत्साहित भएको उहाँले सुनाउनु भयो । सरकारले सिनेमा हललाई आधिकारिक संचालनको अनुमति दिनासाथ हल चलाउने उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘यस क्षेत्रमा एउटा सिनेमा हलको निकै आवश्यकता थियो । जुन हामीले पुरा गर्दै छौँ । निर्माण सुरु गरेसंगै धेरैबाट प्रेसर पनि आइरहेको छ । कोरोनाको कारण रोकियौँ । अब स्थिति सहज हुनासाथ फिलिम चलाउँछौँ ।’
अब केही फिनिसिङ र डेकोरेसनको काम बाँकी रहेको भन्दै त्यो पनि १५। २० दिनमा सकिने उहाँले बताउनु भयो । ‘देशभरीका हलले मुभी चलाउने अनुमति पाउनासाथ हामी पनि सुरु हुन्छौँ । सरकारले यो निर्णय कहिले गर्ला भनेर मिति कुरेर बसेका छौँ, लगत्तै आफ्नै गाउँघरमा बसेर हाइ क्वालिटीको हलमा चलचित्र हेर्ने यहाँका जनताको सपना पुरा हुन्छ’ उहाँले भन्नुभयो ।
गास, बास, कपास र यौन जस्तै मनोरञ्जन पनि मानिसको आधारभूत आवश्यकताजस्तै भएकाले चलचित्र पनि मनारंजनकै एक अंग भएकाले सबैबाट साथ र सहयोग पाइने उहाँ बताउनु हुन्छ । एमबीए सक्काएर अहिले आफ्नै ठाउँमा केही गरौँ भनेर नयाँ विजनेश सुरु गरेको भण्डारीले मायादेवीसंग बताउनु भयो ।
पेशाले इन्जिनियर रहनु भएका अर्का संचालक रामु तामाङले पनि यो ब्यवसायमा लगानी गर्न पाउँदा खुसी लागेको बताउनु भयो । कपिलवस्तुसंगै रुपन्देहीका सालझण्डी, हरैया, मुर्गिया, रामापुर लगायतका चलचित्र प्रेमीहरु बुटवल धाउनु पर्ने बाध्यता रहेको देखेपछि यसको परिकल्पना गरिएको बताउनु भयो । सो हलमा युवा ब्यवसायी संजय पाण्डे र तेजेन्द्र शाहीको पनि लगानी छ । अहिले हल, काउण्टर, प्रवेशद्धारा लगायतका काम लगभग सकिएका छन् भने केही मसिना र कम्पाउण्डको काम बाँकी रहेको उहाँहरुले बताउनु भयो । टिकट घर पनि बनिसकेको छ ।हल चार नम्बरको सिद्धार्थ डिजल्सको पछाडी छ ।
यस्ता छन् विशेषता
यो चलचित्र हल कपिलवस्तुकै सुविधासम्पन एक मात्र हल हो । यहाँ बुटवल र काठमाण्डौँका ‘क्यूएफएक्स’ हलमा पाइने आनन्द पाइने संचालक भण्डारी बताउनु हुन्छ । यस हलको सबैभन्दा राम्रो विशेषता भनेको भौतिक संरचना र ध्वनी हो । भण्डारी भन्नुहुन्छ, हामीले लुम्बिनी प्रदेशमै राम्रो खालको भवनको संरचना बनाएका छौँ र उच्च प्रविधिको साउण्ड दिने कोसिसमा छौँ । यहाँ ७ दशमलव १ श्रावण्ड साउण्ड प्रविधि हुनेछ । जुन दर्शकलाई पृथक लाग्ने छ । यसले कानमा पनि कुनै असर गर्दैन ।’
हलको अर्को विशेषता भनेको एकैपटकमा २ चलचित्र हेर्न पाइनु हो । अर्थात् हलमा एकैपटक २ स्क्रिन डिस्प्ले हुनेछन् । एक हलमा १ सय ७१ र अर्कोमा १ सय ३३ जना गरी एक ‘शो’ मा ३०४ जना दर्शकले चलचित्र हेर्न सक्ने छन् ।
वातानुकुलित हलमा बस्नको लागि पनि आरामदायी सिटको व्यवस्था गरिएको छ । यस हलमा प्रत्यक्ष रुपमा १७ जनासम्मले रोजगारी पाउने छन् । कपिलवस्तु र आसपासका जनताको आर्थिक अवस्थालाई मध्येनजर गर्दै बुटवलभन्दा केही सस्तो हुने गरी टिकटको ब्यवस्था गरिने बताइएको छ ।
चलचित्र हलमा सुविधासम्पन्न क्याफे पनि छ । जुन संचालनमा आइसकेको छ । पछिल्लो समय चलचित्र प्रतिको क्रेज बढिरहेकाले कपिलवस्तुमा यस ब्यवसायले ढुक्कसंग फड्को मार्नेमा संचालक आशाबादी छन् । आफ्नै क्षेत्रमा केही गर्नुपर्दछ भनेर पढेलेखेका युवाको समुहले करोडौँ लगानी गरेको भन्दै सबैबाट माया पाउने उहाँहरुले बताउनु भयो ।
प्रतिक्रिया