८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रधानन्यायाधीशले सोधे -जनमतप्राप्त दलले जनतामा जान्छु भन्दा तिमी नै सरकार चलाऊ भन्ने हो ?



काठमाडौँ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जनताबाट निर्वाचित भएको राजनीतिक दलले सरकार नचलाएर फेरि जनतामा जान्छु भन्दा पनि तिमी सरकार नै चलाऊ भन्ने हो भनेर प्रश्न गरेका छन् ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारे बहसका क्रममा निवेदकका तर्फबाट कानुन व्यवसायी रुद्र शर्माले नेकपाले बहुमत प्राप्त गरेकाले संविधानअनुसार यसरी संसद् विघटन गर्न नमिल्ने धारणा राखेपछि जबराले उक्त प्रश्न सोधेका हुन् ।

‘निर्वाचन भएर संविधानको धारा ७६ उपधारा १ अनुसार बहुमत प्राप्त गरेर सरकार गठन भयो । अब म सरकार चलाउँदिनँ, म जनतामा जान्छु भन्यो भने अनिवार्य तिमीले नै सरकार चलाऊ भन्ने हो ,’ प्रधानन्यायाधीश जबराको प्रश्न थियो ।

नेकपाको सरकार बहुमतको भएको र उक्त दलले नै चुनावमा जाने भनेकाले अर्को सरकार गठनको विकल्प नभएको भन्दै प्रधानन्यायाधीशले कानुन व्यवसायीलाई संविधानमा त्यसको विकल्पबारे कस्तो व्यवस्था छ भनेर सोधेका हुन् ।

प्रधानमन्त्रीले संसद् छलेको भन्दै शर्माले कुरा उठाएपछि जबराले भने, ‘प्रधानमन्त्री अल्पमतमा पर्‍यो भने संसद‌्मा जानुपर्‍यो भन्न खोज्नुभएको हो ?’

संविधानमा संसद् विघटनको सिद्धान्त राखिएको प्रधानन्यायाधीशले बताएका छन् । २०४७ सालको संविधानले संसद् विघटन गर्ने कुरा अंगीकार गरेको थियो । त्यति बेला प्रधानमन्त्रीले गर्न पाउने भनेको थियो । अहिलेको संविधानले पनि संसद् विघटन हुन्छ भन्ने सिद्धान्त अंगीकार गरेको छ, जबराले भने ।

प्रधानन्यायाधीशले शर्मालाई भने, संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ । तर, माध्यम के हो भन्ने कुरा राख्नुस् । शर्माले भने विगतका संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको स्वविवेकीय अधिकार दिएकोमा अहिलेको संविधानले त्यस्तो अधिकार नदिएको जवाफ दिँदै संसद् विघटन गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय खारेजीका लागि अन्तरिम आदेशको माग गरे ।

प्रकाशित मिति : १० पुस २०७७ शुक्रबार ००:००  २ : १२ बजे