मायादेवी अनलाइन, वाणगंगा ।
केपी शर्मा ओली नेतृत्वको सरकारले बैज्ञानिक बन व्यवस्थापनको काम रोकेको बेला कपिलवस्तुको यसको व्यापक विरोध भैरहेको छ ।
बैज्ञानिक बन व्यवस्थापन लागू भएका जिल्लाभित्रका सामुदायिक बन र साझेदारी बनले सरकारको उक्त कदमबारे विभिन्न कार्यक्रम मार्फत आम उपभोक्तालाई जानकारी दिदैं आएका छन् ।
यस बीचमा कपिलवस्तुमा गठन भएको बैज्ञानिक बन व्यवस्थापन सरोकारवाला सञ्जालले विहीबार जिल्लाको बुद्धभूमि १ टिक्करमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । डिभिजन बन कार्यालय कपिलवस्तु मातहत रहेका बनहरुबाट पाँच/पाँच जना उपस्थित उक्त कार्यक्रममा सरकारले बैज्ञानिक बन व्यवस्थापनबारे जनतामा पारेको भ्रमका बारेमा चिर्ने प्रयास गरिएको सञ्जालकी कपिलवस्तु संयोजक रेनु सेनले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले मेयर श्रेष्ठले सामुदायिक बनहरुमा लागू भएको बैज्ञानिक वन व्यवस्थापन राम्रो भएकाले यसलाई रोक्न नहुने बताउनुभयो ।
बनको दिगो व्यवस्थापनमा बैज्ञानिक बन व्यवस्थापन कार्यक्रमले जिल्लामा महत्वपूर्ण भूमिका खेलेको भन्दै जहाँ समस्या छ त्यहाँबाट सुधार गरी कार्यक्रम अगाडि बढाउनुपर्नेमा नगर प्रमुख श्रेष्ठले जोड दिनुभयो । राज्यका हरेक क्षेत्रले कानुनको पालना गर्नुपर्ने भन्दै कुनै एउटाले गरेको गल्तीको सजाय सबैले भोग्न नहुने बताउनुभयो ।
कार्यक्रममा सञ्जालका बरिष्ठ सल्लाहकार जय प्रकाश पाण्डेयले सुदुरपश्चिमको एक बनमा भएको अनियमितताको सिकारले सिंगो बन क्षेत्रलाई एउटै डालोमा हालेर समस्या सिर्जना गर्न खोजिएको भन्दै आक्रोश पोख्नुभयो । गत जेष्ठ महिना देखि सरकारका कारण बनहरुका गतिविधि पूर्ण रुपले ठप्प भएको भन्दै अझै यही स्थिति हुने हो भने बन जंगल जोगाउन समस्या हुने बताउनुभयो । सरकारले यो विषयलाई अझै गम्भीरता पूर्वक नहेरेको भन्दै आफुहरुले अहिले देशैभर सशक्त आन्दोलन गरिरहेको बताउनुभयो ।
सञ्जालकी कपिलवस्तु संयोजक रेनु सेनले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार विहीबार उपभोक्ता समूह समक्ष जनचेतना कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यही १२ गते डिभिजन बन कार्यालय कपिलवस्तु र जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम राखिएको भन्दै १४ गते डिभिजन बन कार्यालय गौतमबुद्ध चन्द्रौटा घेराउको कार्यक्रम रहेको बताउनुभयो ।
अझै पनि सरकारले बैज्ञानिक बन व्यवस्थापनको काम गर्न दिएन भने १६ गते जिल्लाभित्र सञ्चालन हुने यातायात बन्दको कार्यक्रम रहेको संयोजक सेनले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
यातायात बन्द कार्यक्रममा एम्बुलेन्स, शवदहान, प्रेस, दुग्ध संस्थान र मानवअधिकारबादीका सवारी बाहेक अरु सबै बन्द गरिने उहाँले प्रष्ट पार्नुभयो ।
सञ्जालको उपाध्यक्ष शेषकान्त बेल्वासेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सञ्जालका सहसचिव डिल्लीराज रेग्मीले गर्नुभएको थियो ।
प्रतिक्रिया