८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लोकतन्त्र रक्षाका लागि अब संयुक्त आन्दोलनः माधव नेपाल



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले संविधान, लोकतन्त्रको मूल्य र मान्यताको रक्षाका लागि सबैलाई उत्प्रेरित गर्न संयुक्त आन्दोलन गर्ने जनाएका छन् ।

पार्टीको जारी केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्रलाई जोगाउने, कानुनी राज्यको मूल्य र मान्यतालाई व्यवहारमा रुपान्तर गर्न पार्टीले मुख्य भूमिका निर्वाह गर्ने विश्वास दिलाए ।

उनले अहिलेको अवस्थामा संविधान मिचिएको, नेपाली जनताले रगत, पसिना बगाएर, जीवनको आहुति दिएर संविधानसभाका माध्यमबाट नेपाली विशेषता र आवश्यकताको संविधान बनाएका भए पनि त्यसलाई कुल्चने काम भएको टिप्पणी गरे ।

‘यो संविधान विगतको परम्परालाई धानिरहेको संविधान होइन,’ उनले भने, ‘संसारको अनुभव, खासगरी आफ्नै देशको अनुभवलाई टेकेर, विविध कमी कमजोरीलाई सच्याएर संविधान बनाइएको हो ।’

आफ्नै पार्टीबाट सरकारको नेतृत्व गरेका तत्कालीन अध्यक्ष केपी ओलीले संविधानको मर्मलाई कुल्चिएर, संविधानको मर्यादालाई सीमा नाघेपछि संकटको बादल मडारिन थालेको उनको भनाइ थियो ।

पार्टीका नेताहरुको गतिविधिलाई जनताले हेरिरहेको पनि अध्यक्ष नेपालले चर्चा गरे । हिजोका दिन संघर्ष र जनयुद्धमा होमिएका नेताहरु आज सत्तामा पुगेपछि बदलिएका त छैनन् भनेर जनताले सुक्ष्म रुपले हेरिरहेको उनको भनाइ थियो ।

यस्तो अवस्थामा जनताको भावनाअनुसार नेताहरु चल्नुपर्ने उनले प्रस्ट पारे । अध्यक्ष नेपालले ७० प्रतिशतको हाराहारीमा केन्द्रीय सदस्य उपस्थित बैठक नै आधिकारिक हुने दावी गर्दै कसैलाई कुनै भ्रममा नपर्न पनि आग्रह गरे ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठक पार्टीको संगठन र संगठनको तत्कालीन कार्ययोजनाबारे केन्द्रित हुने छ ।

प्रकाशित मिति : ९ पुस २०७७ बिहिबार ००:००  २ : २० बजे