८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गौतमबुद्ध विमानस्थलका लागि थप १८ अर्ब ऋण सम्झौता



काठमाडौं ।
निर्माणको अन्तिम चरणमा पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि एसियाली विकास बैङ्क (एडीबी)ले थप करिब पौने १८ अर्ब रुपैयाँ (१५ करोड डलर) सहुलियतपूर्ण ऋण लगानी गर्ने भएको छ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त ऋण सम्झौतामा हस्ताक्षर भयो। दक्षिण एसियाली उपक्षेत्रीय सहकार्य (सासेक)अन्तर्गतको विमानस्थल क्षमता अभिवृद्धि परियोजनाका लागि उक्त ऋण उपलब्ध गराइने सम्झौतामा उल्लेख छ। सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबीको नेपालका लागि आवासीय इन्चार्ज रुडी लुई हेन्ड्रिकुस भान डेलले हस्ताक्षर गरे।

एडीबीले उपलब्ध गराउने उक्त ऋण उक्त विमानस्थलको दोस्रो चरणको विस्तारको डिजाइन र टर्मिनल भवन निर्माणमा उपयोग हुने सम्झौता छ। त्यस्तै ट्याक्सी वे विस्तार, एप्रोन निर्माणका लागिसमेत ऋण उपलब्ध गराएको एडीबीले जनाएको छ ।

एडीबीले यसअघि नै विमानस्थलको पहिलो चरणको कामका लागि करिब साढे दुई अर्ब ऋण उपलब्ध गराइसकेको छ। विमानस्थल निर्माणको अहिलेसम्म करिब ९३ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ।

यस्तै बाढी जोखिम व्यवस्थापनका लागि एडीबीले करिब पौने अर्ब सहुलियतपूर्ण ऋण (चार करोड डलर) र करिब सवा अर्ब (एक करोड डलर) अनुदान पनि उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।

प्रकाशित मिति : ९ पुस २०७७ बिहिबार ००:००  ९ : ४८ बजे