८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गुल्मीका चार स्थानीय तहका आफ्नै प्रहरी



गुल्मी ।
जिल्लाका चार स्थानीय तहहरूले निजी प्रहरी नियुक्ति गरेका छन्। जिल्लाको रेसुंगा नगरपालिकाले सात, धुर्कोट गाउँपालिकाले पाँच, इश्मा गाउँपालिकाले पाँच र मालिका गाउँपालिकाले ६ जना प्रहरी नगर मातहतमा रहनेगरी नियुक्ति गरेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार सेवा सर्त र सुविधाको लागि नगरसभाबाट कार्यविधि पारित गरी नगरप्रहरी छनोट गरिएको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए। जसअनुसार एक जना हवलदारलाई १५ हजार र ६ जना जवानहरुलाई १३ हजारका दरले पारिश्रमिक दिने गरेको बताए। त्योसँगै मासिक तीन हजार खाजा खर्च र वार्षिक रुपमा पोशाक उपलब्ध गराउने बताए।

उनीहरुलाई स्थानीय बजार अनुगमन, गाउँपालिका र नगरपालिकाको सुरक्षा बजार अनुगमन, आन्तरिक राजस्व उठाउने लगायतका कामको जिम्मेवारी दिइएको मालिका गाउँपालिका वडा नं ६ अर्जेका वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए।

बिपदको बेला पनि नेपाल प्रहरीहरुसँग समन्वय गरी उद्धारका कार्यसँगै स्थानीय शान्ती सुरक्षा कायम गर्नका लागि उनीहरुको ठुलो भूमिका रहने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताए। जिल्लाको मुसिकोट नगरपालिकाले पनि नगर प्रहरी नियुक्ति गर्ने प्रक्रियामा रहेको नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए।

प्रकाशित मिति : ९ पुस २०७७ बिहिबार ००:००  ९ : ४७ बजे