८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘ओली कम्युनिष्ट सक्ने दिशामा छन्, सबै एक भएर खबरदारी गरौं’



मायादेवी अनलाइन, बुद्धभूमि ।
प्रचण्ड–नेपाल समूहका पत्रकार बीच भएको छलफल कार्यक्रममा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन सक्ने दिशामा रहेको निष्कर्ष निकालेका छन् ।

प्रेस संगठन नेपाल कपिलवस्तुले जिल्लाको गोरुसिंगेमा बुधबार साँझ राखेको भेलामा बोल्ने नेता र पत्रकारहरुले ओली कम्युनिष्ट आन्दोलन सक्ने गरी लागेको निष्कर्ष निकाल्दै जनता माझ सत्य, तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने सामूहिक निष्कर्ष निकालिएको छ । ओलीले पछिल्लो समय चालेको कदम असंबैधानिक रहेको पनि जिल्लाका पत्रकारको निष्कर्ष छ ।

भेलामा बोल्दै नेकपाका नेता तथा लुम्बिनी प्रदेश सदस्य विष्णु पन्थीले प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमले सिंगो मूलुक र पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । तीन बर्ष अगाडि ५ बर्ष शासन चलाउन दिए मुलुकको विकास गर्छौ भनेर जनता बीच भोट मागेको स्मरण गर्दै बीचमै संसद विघटन गरेर चुनावमा जाने निर्णय तत्काल सच्चाउन दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

ओली सरकार गठन भएदेखि काम भन्दा धेरै बदनाम भएको भन्दै सरकारले तीन बर्ष माखो मार्न नसकेको बताउनुभयो । जनताको बीच चुनाव घोषणा गरेको ओली सरकारले गरेका एक, दुई, तीन लोकप्रिय काम के हुन् भन्दै उहाँले प्रश्न गर्नुभयो । ओली सरकारको कदम प्रति गम्भीर असहमती प्रकट गर्नुभएका नेता पन्थीले अब पार्टीलाई विधिसम्मत रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । ओलीले १ हजार १ सय ९९ सदस्यिय केन्द्रिय कमिटी निर्माण गरेर कम्युनिष्ट पार्टीको विधि उल्लङ्घन गरेको बताउनुभयो । कम्युनिष्ट पार्टी विधिले चल्नुपर्ने भन्दै सबैलाई केन्द्रिय सदस्य बनाएर पतनको दिशामा जान थालेको टिप्पणी गर्नुभयो ।

नेकपाका जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ले केपी ओलीले कम्युनिष्टको विचारमाथि गम्भीर गद्धार गरेको भन्दै डटेर सामना गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीभित्र काम गर्ने प्रशस्त वातावरण भएपनि आफु असक्षम भएर समस्या भएको चर्चा गर्नुभयो । आफै असक्षम हुने र नेताहरुले काम गर्न दिएनन् भन्ने प्रचार गर्नु नै ओलीको सबैभन्दा ठूलो झुटको खेती रहेको बताउनुभयो । पार्टीलाई विधि, पद्धतिमा चलाउँ भन्दा ओलीले पार्टीनै फुटाएर जनतामाथि गम्भीर धोका दिएको सचिव शाहले बताउनुभयो । ओलीले जे गरेपनि ठिक देख्ने हनुमानलाई जतनाले चिनेको भन्दै आफुहरुको नेकपा संस्थापन रहेको जिकिर गर्नुभयो ।

नेकपा जिल्ला सचिवालय सदस्य विष्णु बेल्वासेले ओली कमरेड कम्युनिष्ट नै नभएको बताउनुभयो । ओलीमा कम्युनिष्टका कतिपनि गुण नभएको चर्चा गर्दै जनताको भावना विपरित गएर पार्टीनै ध्वस्त पार्ने दिशामा रहेको बताउनुभयो ।

प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा भएको भेलामा संगठनका केन्द्रिय सदस्य मनिष कार्की, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी, प्रेस सगठनको जिल्ला सह-संयोजक हरि अधिकारी, नेता विकास बञ्जाडे लगायतको उपस्थिति रहेको थियो । भेलामा पत्रकारहरुले पार्टीको समग्र स्थितिको बारेमा चासो राखेका थिए भने ओलीले चालेका कदमको जनता बीच ल्याउने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : ९ पुस २०७७ बिहिबार ००:००  ८ : ५४ बजे