८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

संसद विघटन बिरुद्ध जनता समाजवादी पार्टी कपिलवस्तुको विरोध प्रदर्शन



मायादेवी अनलाइन, तौलिहवा ।
प्रधानमन्त्रीले गरको संसद बिघटन असंबैधानिक तथा अलोकतान्त्रिक भएको भन्दै जनता समाजवादी पार्टी कपिलवस्तुले तौलिहवामा बिरोध सभा र र्‍याली गरेको छ ।

संबिधानमा नभएको अधिकारलाई गलत ढंगले प्रयोग गरेर संसद बिघटन गरिएको भन्दै संसद पुर्नस्थापना हुुनुपर्ने सो पार्टीले माग गरेको छ । सदरमुकाम तौलिहवामा पार्टीको नेता तथा कार्यकर्ताहरुले र्याली नकालेका थिए ।

र्‍यालीका क्रममा सरकार र प्रधानमन्त्री ओली बिरुद्ध चर्का नाराबाजी गरिएको थियो । र्‍याली पछि प्रशासन चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै समाजवादी पार्टी नेपालका नेता तथा पूर्वमन्त्री दानबहादुर चौधरीले केपी ओली सरकारले संसद विघटन गरेर मुलुकमा अस्थिरता निम्ताएको आरोप लगाए ।

उनले प्रधानमन्त्री ओलीको कदम राजनीतिक रूपमा पनि लोकतन्त्र विरोधी र निन्दनीय रहेको बताए । आफ्नो पार्टीको किचालोको कारण देखाउदै प्रधानमन्त्रीले संसद बिघटन गर्नु कुनै पनि हालतमा राम्रो कदम नभएको उनले बताए ।

ओलीको कदम राजनीतिक परिवर्तनलाई पछाडि धकेल्ने निर्णय भएको बताए । पूर्वमन्त्री चौधरीले अलोकतान्त्रिक, असंबैधानिक र गैरराजनीति उक्त निर्णय विरुद्ध सडक आन्दोलन चर्काइने चेतावनी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपाको केन्द्रिय सदस्य रविदत्त मिश्राले केपी ओली र विद्यादेवी भण्डारीले अलोकतान्त्रिक काम गरेको बताए ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य नारायण प्रसाद खनालले संबिधान विघटन गर्ने प्रधानमन्त्रीलाई कुनै अधिकार नभएको बताए ।

केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका संसदीय दलका नेता सहसराम यादवले जनआन्दोलन र मधेश आन्दोलनसँगै गरेको स्मरण गर्दै उनले प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि आन्दोलनबाटै फालिने चेतावनी दिए । उनले संघीयता र गणतन्त्र विरोधी विरुद्ध अव चुप लागेर नबस्ने बताए ।


पार्टी जिल्ला सभापति शैलेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा गीता श्रीवास्तव, नेता अब्दुल रसिद खाँ लगायतले आन्दोलनलाई चर्काउँदै जाने बताए ।

प्रकाशित मिति : ८ पुस २०७७ बुधबार ००:००  १० : २९ बजे