मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले कोरोनाको कारण नेपाली मिडिया जगत संकटमा परेको बताउनुभएको छ । चैत्रबाट सुरु भएको कोरोना महामारी अझै पनि कायम रहेको हुँदा नेपाली सञ्चार जगतमा आर्थिक संकट निम्तिएको बताउनुभएको हो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुको नयाँ भवनको वाणगंगा ८ बोडगाउँमा मंगलबार उद्घाटन गर्दै अध्यक्ष आचार्यले छापा, विद्युतीय तथा अनलाइन सञ्चार माध्यमहरुमा ७० प्रतिशतसम्म विज्ञापनहरु कम भएको भन्दै चल्न समस्या रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उपत्यका बाहिर मात्र होइन्, उपत्यका भित्रकै ठूला सञ्चार गृहमा समेत आर्थिक संकट निम्तिएर धेरै श्रमजिवी पत्रकारले जागीर नै गुमाउनुपरेको छ । कतिपय मिडिया बन्द नै भए । कतिपयको स्थिति नाजुक छ । यस्तो स्थितिमा कत्तिपनि विचलित नभई काम गर्न जिल्लाका पत्रकारलाई आग्रह गर्दछु ।’
आफु महासंघको नेतृत्वमा पुगे देखि नै श्रमजिवीको हकमा योजना बनाएता पनि कोरोनाको कारण केही गर्न नसकिएको उहाँले बताउनुभयो । अहिले नेपाल सरकार सूचना सञ्चार तथा प्रविधि मन्त्रालयमा महासंघले अल्पकालिन तथा दीर्घकालिन योजना लगेको हुँदा आगामी दिनमा पत्रकारलाई समस्या नआउने आश्वस्त पार्दै पत्रकारिताबाट नभाग्न आग्रह गर्नुभयो ।
निरन्तर तीस बर्षसम्म पत्रकारिता गरेर ६० बर्षमाथि पुगेका श्रमजिवीलाई मासिक १५ हजारसम्म तलव दिने नीतिगत व्यवस्था कार्यान्वयनको चरणमा रहेको समेत सुनाउनुभयो ।
फरक प्रसंगमा उहाँले आचारसंहिता विपरित काम गर्ने पत्रकार ढिलोचाडो कारबाहीको भागिदार बन्ने समेत बताउनुभयो । पछिल्लो समय आचारसहिंता विपरित पत्रकारहरुले सामग्री प्रकाशन, प्रशारण गरिरहेकाले पेशागत मर्यादामा रहन समेत उहाँको सुझाव छ । सत्यतथ्यमा आधारित रहि समाचार लेख्दा पत्रकारको पनि गरिमा उच्च हुने तथा विपरित काम गर्नेहरु पतन हुने औल्याउँदै कपिलवस्तुका पत्रकारहरुलाई नमुना बनेर देखाउन आग्रह गर्नुभयो ।
पछिल्लो समय अनलाइन पत्रकारितामा विकृति निम्तिएको बताउँदै अब महासंघले सुद्धिकरणको काम पनि थाल्ने अध्यक्ष आचार्यले बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले पत्रकारिता आचारसहिंता सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा उहाँले प्रेस काउन्सिलमा आउने उजुरी, पत्रकारले विराउने बाटोको प्रकृति, पेशागत मर्यादा विपरित काम गर्ने पत्रकारहरुमाथि हुने कारबाही लगायतका विषयमा कपिलवस्तुका सञ्चारकर्मीहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।
एउटै सामग्री पनि मिडियापिच्छे फरक फरक आउँदा पाठक समेत भ्रममा पर्ने हुँदा समाचारको तथ्यतामा ध्यान दिन समेत उहाँको आग्रह छ । राम्रो पत्रकार र मिडिया हाउसलाई काउन्सिलले सम्मान, प्रोत्साहन तथा वर्गिकरणमा पार्ने हुँदा निष्पक्ष ढंगले कलम चलाउदा प्रशस्त सम्भावना समेत रहेको उहाँले सुनाउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी, पूर्व केन्द्रिय सदस्य निशा विश्वकर्मा लगायतले बोल्दै महासंघले भवन बनाएर राम्रो काम गरेकोमा बधाई दिनुभएको थियो ।
महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हरि अधिकारीले गर्नुभएको थियो । महासंघले झण्डै ३५ लाख लागतमा सुविधासम्पन्न भवन बनाएको हो । यससंगै जिल्लामा महासंघका दुई ओटा भवन निर्माण भएका छन् । कार्यक्रममा सहभागी पत्रकारहरुले विभिन्न समस्याका बारेमा केन्द्रिय अध्यक्ष समक्ष अवगत गराएका थिए ।
प्रतिक्रिया