मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारुले नगर खेलकुदमैत्री भएको बताउनु भएको छ ।
वडा नम्बर ४ को आयोजना तथा स्थानीय शान्ति दिप क्लवको संयोजनमा बुद्ध रंगशाला जितपुरमस्थित कभर्डहलमा बुधबारबाट सुरु भएको ‘खुल्ला राष्ट्रिय पुरुष डबल्स ब्याडमिन्टन’ प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख थारुले बाणगंगा खेलकुदमैत्री भएकै कारण यहाँ खेल गतिविधि बढेको बताउनु भएको हो ।
जिल्लामै पहिलोपटक नगरमा राष्ट्रिय स्तरको ब्याडमिन्टन आयोजना हुनुले आफ्नो गौरव बढेको भन्दै आगामी दिनमा पनि यस्ता प्रतियोगिता गर्न सघाउने बताउनु भयो । यसअघि फुटवल, कुस्ती लगायतका राष्ट्रिय खेल भइसकेकाले पूर्वाधार पनि बनिरहेको उहाँको भनाई छ । उहाँले अब पुरुष मात्रै नभई महिला प्रतियोगिता पनि गरिए विभेद नहुने भनाई पनि राख्नु भयो ।
उहाँले खेलकुदमा भएको खर्च खर्च नभएर लगानी भएको समेत बताउँदै खेलमा लगानी गर्दा राम्रै हुने बताउनु भयो । उप-प्रमुख चक्रपाणी अर्यालले लागु पदार्थ दुव्र्यसनीमा लागेका युवालाई समाज रुपान्तरणमा लगाउन प्रतियोगिता गरिनु अनुकरणीय भएको बताउनु भयो । यस्ता प्रतियोगिताले स्वस्थ समाज निर्माण गर्न सघाउने उहाँको भनाई छ ।
उद्घाटन कार्यक्रममा वडा नम्बर १ की वडाअध्यक्ष बाल कुमारी पन्त, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, बाणगंगा यातायातका अध्यक्ष विष्णु न्यौपाने, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, खेलकुदका कार्यलय प्रमुख मिन प्रसाद पोख्रेल, पूर्व अध्यक्ष छवि रेश्मी, जिल्ला फुटवल संघका अध्यक्ष तिलक थापा, सिद्धार्थ बजार विकास समितिका अध्यक्ष विष्णु थापा लगायतले खेल सफलताको शुभकामना दिनु भएको थियो ।
प्रतियोगितामा विभागीय आर्मीसहितका टिमले भाग लिएका छन् भने आयोजक वडा नम्बर ४ सहित रुपन्देही, पाल्पा, नवलपरासी, दाङ लगायतबाट पनि खेलाडीले भाग लिएका छन् । दुर्वसनरहित स्वस्थ र समुन्नत समाज निर्माणको लागि खेलकुद भन्ने मूल नाराका साथमा सुरु भएको प्रतियोगिता भोलिसम्म चल्ने छ ।
प्रतियोगितामा लागु औषध दुव्र्यसनमा लागेर पुर्नस्थापित भइसकेका र बिभिन्न सुधारगृहमा बसिरहेका खेलाडीले पनि भाग लिएका छन् ।
प्रतियोगितामा विजेता हुने टिमले ६६ हजार, उपविजेताले ३३ हजार र तृतीय हुने टिमले १६ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
बाणगंगा नगरपालिकामा अहिले ब्याडमिन्टनको क्रेज बढेको छ । यहाँ राष्ट्रिय स्तरको खेल खेल्न सक्ने खेलाडी पनि छन् । उनीहरुलाई थप हौसला र प्रेरणा प्रदान गर्न पनि यो प्रतियोगिता अनुकरणीय हुने आयोजकको अपेक्षा छ ।
प्रतिक्रिया