८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा अपाङ्गता दिवस बिभिन्न कार्यक्रम गरी मनाइयो



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा जिल्लाका १० वटै पालिकाले छुट्टा छुट्टै कार्यक्रम गरेका छन् ।

दिवसका अवसरमा कपिलवस्तुको तौलिहवामा पुरस्कार र सहयोग सामग्री वितरण गरिएको छ । लुम्बिनी अपाङ्गता विकास केन्द्र, अपाङ्ग उत्थान समाज, ऋतु स्वावलम्बन अपाङ्गता संस्था, कपिलवस्तु नेत्रहिन सघंको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।

कपिलवस्तु नगरपालिकाका उप-प्रमुख लक्ष्मी गुप्ताले पुरस्कार वितरणको क्रममा अपाङ्गता भएका व्यक्तिहरुको हक हितका लागि सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक रुद्र बहादुर गैरेले अपाङ्गता भएका व्यक्तिहरुको लागि अपाङ्गता मैत्री संरचना र व्यवहार हुन आवश्यक रहेको बताए । उनले हिउँदे नगरसभाबाट थप कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरुको लागि उपलब्ध गराउने घोषणा गरे ।

नगरपालिकाका सामाजिक सल्लाहकार सुरेन्द्रराज लम्साल, सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, अपाङ्ग उत्थान समाज, नगरस्तरिय समितिका अध्यक्ष रिना केवट लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यसैगरी विभिन्न सामाजिक संस्था, कपिलवस्तु नगरपालिका, युनाईटेड मिसन नेपाल, लिडो, कालिका स्वाबलम्बन सामाजिक केन्द्रको सहयोगमा भएको ह्वील चियर दौड र चित्रकला प्रतियोगिता विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ ।

१० जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि शौचालय कुर्ची वितरण गरिएको हो । लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरसियाको अध्यक्षता, कपिलवस्तु नगरपालिकाका उप प्रमुख लक्ष्मि गुप्ताको प्रमुख आतिथ्यता, कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष रुद्र बहादुर गैरेको विशिष्ट आतिथ्यता, केन्द्रका सचिव शिवानन्द बर्माको स्वागत र उपाध्यक्ष सुचिता श्रीवास्तावको संचालनमा कायक्रम संपन्न भएको छ ।

यसैगरी मायादेबी गाउँपालिकामा समेत दिवस मनाइएको छ । गाउँपालिका प्रमुख बजरंगी प्रसाद चौधरीको अध्यक्षता र सामाजिक विकास अधिकृत बैतुल्लाह धुनियाको संचालनमा भएको कार्यक्रममा उप प्रमुख गीता तिवारी वडाध्यक्ष कृष्णनारायण तिवारी, सकुदेव तिवारी, बिरेन्द्र यादव, रामकृष्ण तेली लगायतले मन्तब्य दिएका थिए ।

सो अवसरमा अपाङ्गको सवालमा पालिकाले ठोस सहयोग गर्नु पर्ने माग गरिएको थियो । यस्तै कृष्णनगर नगरपालिकामा समेत दिवस मनाइएको छ । दिवसका अवसरमा मेयर रजत प्रताप शाहले अपांगहरुको हक अधिकार र सुबिधाका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रकाशित मिति : १८ मंसिर २०७७ बिहिबार ००:००  ९ : ४१ बजे