गुल्मी ।
लामो विवादपछि गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र टुङ्गो लागेको छ । बुधबार साझ इस्मा गाउँपालिकाका जनप्रतिनिधिहरुको दुई तिहाई बहुमतले सो गाउँपालिका वडा नम्बर–५ को रातापोखरादेखि वडा नम्बर ३ को फेदिफाट हुँदा माटाखानी सम्म केन्द्रको टुङ्गो लगाएका हुन् ।
गाउँपालिका अध्यक्ष बाहेक कुल २९ मत रहेकोमा २१ मत त्यहाँ केन्द्र राख्ने पक्षमा परेको र ८ मत विपक्षमा परेको थियो । सुरुमा जिल्ला स्तरीय सम्यन्त्रले तोकेको चापटारी केन्द्र गाउँबासीबीच विवाद बढेपछि अस्थायी केन्द्र तोक्न समस्या भएको थियो ।
बुधबार बसेको गाउँसभाले चापटारी भन्दा डेढ किलो मिटरमाथि र हालको अस्थायी केन्द्र दोबाटादेखि एक किलो मिटर तल रातापोखरामा जनप्रतिनिधिहरुको बहुमतले केन्द्र तोकेको इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले जानकारी दिए ।
केन्द्र तोकिएको खुशियालीमा आज इस्मामा सार्वजनिक बिदा दिइएको छ र बिजय उत्सव मनाइने अध्यक्ष बिष्टले बताए ।
श्रोतका अनुसार त्यस गाउँपालिकामा नेपाली काँग्रेसको वडा नम्बर १ मा जम्मा ५ मत छन् । त्यस वडाका ५ मत र वडा नम्बर २ का नेकपा बाट विजयी जनप्रतिनिधिका ३ मतसहित ८ मत विपक्षमा परेका हुन् ।
प्रतिक्रिया