८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाँकेको बनिया गाउँ चार दिनदेखि तनावग्रस्त



नेपालगञ्ज ।

गाउँलेहरुबीच विवादपछि झडप हुँदा एकजना स्थानीय बासिन्दाको मृत्यु भएपछि नेपालगन्जसँगै जोडिएको बनिया गाउँ चार दिनदेखि त्रासमा छ। बनिया गाउँलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले घेरेर राखेका छन्। गाउँमा भय र त्रासको वातावरण रहेको स्थानीयवासी बताउँछन्। कुनै पनि बेला गाउँलेहरुबीच झडप हुन सक्ने त्रासले स्थानीय बासिन्दा चार दिनदेखि ढुक्कसंग निदाउन पाएका छैनन्। धेरैको घरमा राम्रोसँग चुलो बलेको छैन।

गाउँको बाटो, जग्गाका कारण गाउँका गाउँलेबीच भएको विवाद स्थानीय तहको निर्वाचनपछि राजनीनिक दुश्मनीमा परिणत भएको थियो। विवाद मंसिर १५ गते पूर्णिमाका दिन लागेको मेलापछि झडपमा परिणत भएको हो। यही झडपमा बनिया गाउँका ४५ वर्षीय धनिराम यादवको मृत्यु भयो। पाँचजना घाइते भए। धनिरामको मृत्यु भएको तीन दिनपछि आफन्तहरुले अस्पतालबाट शव बुझेर दाहसंसकार गरे पनि गाउँमा डर र त्रासको अवस्था कायमै रहेको स्थानीय दिलाबर बागबानले बताए। मुखमा मास्क हेलमेट लगाएर आएका युवाहरुले घरघर घर पसेर धनिरामका युवाहरुमाथि कुटपिट गर्नुका साथै घरमा तोडफोड समेत गरेको पीडितहरुले बताएका छन्।

आक्रमणमा संलग्न युवाहरुले फेरि पनि आक्रमण गर्ने धम्की दिँदै फोन गरेका कारण ढुक्कसँग निदाउन नपाएको अमृता यादवले बताइन्। आफन्तको ज्यान जाने गरी आक्रमणमा संलग्न युवाहरुमाथि कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मृतकका भतिजा कृपाराम यादवले बताए।

पीडितका आफन्तहरुले भने घटनामा दिनेश कादुसहित १७ जना संलग्न रहेको दाबी गर्दै किटानी जाहेरी दिएका छन्। घटनामा संलग्न रहेका दुईजनालाई पक्राउ गरी प्रहरीले कानुनी कारबाही सुरु गरेको छ। किटानी जाहेरी परेका अन्य युवाहरु भने फरार छन्।

गाउँमा तनाब सिर्जना भएपछि करिब ५० जना नेपाल प्रहरी र २५ जना सशस्त्र प्रहरीलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवास खड्काले बताए।

प्रकाशित मिति : १८ मंसिर २०७७ बिहिबार ००:००  ३ : ०६ बजे