काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरीरमा दुखाइ बढ्दै गएको बताएका छन् । पौडेललाई बुधबार पुल उद्घाटन गर्न जाँदै गर्दा तनहुँ प्रहरीले नियन्त्रणमा लिई तीन घण्टापछि छाडेको थियो ।
‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ हिजो दिउँसोभन्दा साँझ दुखेर आयो,’ पौडेलले भने, ‘हिजोभन्दा आज दुखाइ बढी छ ।’ उनले गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुटकारा नमिलेको उल्लेख गरेका छन् ।
‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन,’ उनले भने, ‘असली लोकतन्त्र कहिले साकार हुने होरु मेरो चिन्ता यसैमा छ ।’
गृह जिल्ला तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बुधबार उद्घाटन गर्न जाँदा निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले पौडेललाई पक्राउ गरेको थियो ।
आज बिहान ११ बजेपछि उक्त पुल उद्घाटन गर्ने पौडेलले बताएका छन्। पुल उद्घाटन नेकपा नेताबाट हुनुपर्ने भन्दै नेकपाले भने विरोध गरिरहेको छ ।
प्रतिक्रिया