अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका ४ की रमा पाण्डेले एक वर्षमा दुई हजार तीन सय किलो लोकल कुखुरा बिक्री गरेर १३ लाख ८० हजार रुपैयाँ आम्दानी गर्नुभयो । गएको वर्ष साढे पाँच लाख रुपैयाँ आम्दानी गर्नुभएकी उहाँले यस वर्ष दोब्बरभन्दा बढी आम्दानी गर्न सफल हुनुभयो ।
गएको वर्ष ४७ हजार अनुदान पाएका पाण्डे दम्पतीले यस वर्ष एक लाख पन्ध्र हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । जग्गा भाडामा लिएर सुरु गरेको लोकल कुखुरा व्यवसाय पाण्डे दम्पतीको आम्दानीको स्रोत बनेको छ ।
त्यस्तै ६ नम्बर वडाको फेदीमा बस्ने करुणा कुँवरले एक लाख नौ हजार रुपैयाँ अनुदानबापत पाउनुभयो । बाख्रा पालनमा सफल उद्यमी उहाँले २०७४ सालदेखि पाँच वटा बाख्राबाट व्यवसाय सुरु गर्नुभएको थियो । वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको उहाँ बताउनुहुन्छ ।
नगरपालिकाले गएको वर्षदेखि लागू गरेको उत्पादनका आधारमा अनुदान वितरण कार्यक्रमले किसान उत्साहित बनेका छन् । यस वर्ष सहकारीमार्फत खसीपाठा बजारीकरण गर्ने एक सय ४० उद्यमीलाई ५१ लाख ८० हजार रुपैयाँ अनुदानबापत वितरण गरिएको छ । झण्डै २० लाख रकम कृषिजन्य उत्पादनमा अनुदानबापत प्रदान गरिएको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले बताउनुभयो ।
आफूले गरेका उत्पादनमा नगरपालिकाबाट अनुदान पाउँदा किसान उत्साहित भएका छन् । अनुदान वितरणलाई अभियानकै रुपमा किसानकै घरदैलोमा पुगेर रकम वितरण गर्दै आएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया