८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

ला लिगामा रियल मड्रिडले बार्सिलोनालाई हरायो, मेस्सी गोल गर्न चुके



एजेन्सी ।

स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ ।क्याम्प नाउमा शनिबार भएको सिजनको पहिलो एल क्लासिकोमा रियलले बार्सिलोनालाई ३(१ गोल अन्तरले पराजित गरेको हो ।

रियललाई जित दिलाउन फेड्रिको भालभर्डे, सर्जियो रामोस र लुका मोड्रिचले एक एक गोल गरे ।बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काए ।खेलको पाँचौ मिनेटमा फेड्रिकोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

तर, नवौं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।यस गोलसँगै फाती एल क्लासिकोमा गोल गर्ने सर्वाधिक कम उमेरका खेलाडी बनेका छन् । फातीले १७ वर्षको उमेरमा गोल गरेका हुन् ।

खेलको ६३ औं मिनेटमा कप्तान रामोसले पेनाल्टी गोल गर्दै रियललाई २१ को अग्रता दिलाए ।बार्सिलोनाका लेग्लेटले पेनाल्टी क्षेत्रमा रामोसलाई फउल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । जसमा रामोस चुकेनन् ।त्यसपछि खेलको ९० औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए ।

जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।रियलले ६ खेलमा १३ अंक जोडेको छ । रियलको यो चौंथो जित हो । यो जितले रियलका मुख्य प्रशिक्षक जिनेदान जिदानलाई राहत मिलेको छ । अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको कारण जिदान दबाबमा रहेका थिए । उनलाई रियलले बर्खास्त गर्ने हल्ला समेत चलेको थियो ।बार्सिलोनाको भने यो दोस्रो हार हो । ५ खेलमा ७ अंक जोडेको बार्सिलोना दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  १० : ३९ बजे