८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘मेयर श्रेष्ठको छैन यसपालिको टिका, तामझाम नगरी टिका लगाउन अनुरोध’



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना महामारीका बीच आएको यसपालिको दशैंमा नगर प्रमुख केशव कुमार श्रेष्ठको टिका छैन । कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख श्रेष्ठले यो बर्षको दशैं घरमा बसेर मनाउने योजनामा हुनुहुन्छ । परिवारमा दशैंको उल्लास नभएपनि रमाइलो मानेर मनाउने योजना रहेको श्रेष्ठले सुनाउनुभयो ।

कोरोना भाइरसको विषम परिस्थितीमा बाँच्नु र बचाउँनु नै ठूलो कुरा भएको भन्दै नगर प्रमुख श्रेष्ठले टिका लगाउन हुनेहरुले पनि तामझाम गर्न नहुने बताउँनुभयो । घरभित्रका सदस्यले मात्र टिका लगाउन आग्रह गर्दै टिका थाप्न हिड्ने र बोलाउने नगर्न सबैमा आग्रह गर्नुभयो ।

यो बर्षको दशैंलाई परम्परालाई जगेर्ना गर्ने गरी मनाउनुपर्ने भन्दै कोरोना महामारी अन्त्य भएपछि आउँदो बर्षको दशैं हर्षौउल्लासले मनाउने गरी उहाँले सन्देश दिनुभयो ।

‘दशैं खुसीयाली, उमंगको चाड हो । मान्यजन कहाँ गएर टिका थाप्ने र रमाइलो पर्ने परम्परा रहेपनि यो बर्ष हामी विषम परिस्थितीमा गुज्रियौं । विश्वभर कोरोनाले मानव जीवन आक्रान्त भैरहेको बेला आएको दशैं चाड खासै रमाइलो छैन । तरपनि पुरानो परम्परा जगेर्ना गर्ने गरी मनाउनुपर्ने बाध्यता छ । यस बर्ष मेरो परिवारको टिका छैन । टिका नभए पनि घरका सदस्यहरु बीच सुख दुख साटसाट गर्ने योजना छ । बाहिर कतै जाने अवस्था नभएकाले या बर्षको दशैंमा घरमै हुन्छ । नजिकका साथीभाईसंग बस्ने पनि योजना छ । मायादेवी अनलाइनसंग दशैंको बारेमा शुभकामना व्यक्त गर्दै नगर प्रमुख श्रेष्ठले भन्नुभयो ।

कोरोना महामारीबाट बच्न ध्यान दिएर स्वास्थ्य मापदण्ड पालना गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । सबै मिलेर मात्र कोरोनालाई निरुत्साहित गर्न सकिने भन्दै उहाँले दशैंको बेला विशेष सजगता अपनाएर टिका लगाउन अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ६ : ३२ बजे