काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले दसैं पर्वको शुभकामना दिँदै नेपाली जनताले बढ्दो आसुरी र भष्मासुरी प्रवृत्तिबाट उन्मुक्ति खोजेको टिप्पणी गरेका छन् ।
प्राकृतिक विपत्ति मानववशको कुरा नभए पनि यसविरुद्ध लाग्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल आजका राजनीतक दलसँग नभएको उनको ठहर छ ।
“जनता बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ,” उनले सन्देशमा भनेका छन्, “संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ ।”
राजनीतिक दल, सरकारको नेतृत्व गरेकाहरू आपसी समन्वय, सद्भाव र सकार्यलाई छाडेर व्यक्तिवाद, समूहवादतर्फ उन्मुख हुन थालेको उनले आशङ्का व्यक्त गरेका छन् । यसले स्थिर, सुदृढ र सन्तोषजनक राष्ट्रि परिणाम प्राप्त हुन नसक्ने बताएका छन् ।
“विदेशमा गएर रोजगारीमा लागेकाहरू सङ्कटमा छन् भने देशभित्र उनीहरूको श्रम, सीप र सामर्थ्यको सदुयोग गर्ने कुनै बन्दोबस्त भइरहेको छैन । त्यसैले देश, समाज र परिवारको मोह, ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ ।
राहत, रोजगार र रोगको उपचार खोज्दै भौँतारिएका जनसमूलाई भरपर्दो आड आधारको आवश्यकता महसुस गराउन सकिएको छैन,” उनले भनेका छन्, “त्यसैगरी दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास जस्ता विषयले हाम्रो जनजीवन पिरोलिएको छ । समाजमा अनेकन आपराधिक गतिविधि र पिचाश प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ ।”
प्रतिक्रिया