८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

तिलोत्तमाद्धारा कोरोना संक्रमितको शव व्यवस्थापन



बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणपछि मृत्यु भएका एक पुरुषको शव आफैले व्यवस्थापन गरेको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयले होम आइसोलेशनमा रहेकाहरुको मृत्यु भएमा सम्बन्धित परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने निर्णय गरेका बेला तिलोत्तमा नगरपालिकाले भने नगरपालिका भित्र बसोबास गर्ने र कोरोना संक्रमणपछि होमआइसोलेसनमै मृत्यु भएका व्यक्तिको शव नगरपालिकाले व्यवस्थापन गर्ने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम बुधबार बिहान होम आइसोलेसनमै मृत्यु भएका तिलोत्तमा वडा नं ५ का ४७ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको हो। नगरपालिकाले तिलोत्तमा वडा नं ८ र १ को सिमाक्षेत्रमा पर्ने सुखौरा खोलामा लगेर शव व्यवस्थापन गरिएको जनाएको छ।

तिलोत्तमाका कोरोना फोकल पर्सन इश्वरीप्रसाद गौतमले नगरपालिकाले शव व्यवस्थापन गरेको यो पहिलो घटना भएको जानकारी दिए। गत कात्तिक १ गते स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनी होम आइसोलेशनमा बस्दै आएका थिए। बुधबार बिहान श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको नगरपालिकाले जनाएको छ।

तिलोत्तमा नगरपालिकामा हालसम्म ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। १७ वटा वडा रहेको नगरपालिकामा ७ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये करिब ४ सय सक्रिय संक्रमित रहेको नगरपालिकाले जनाएको छ। यसअघि बुधबार बिहान बुटवलका २ जना संक्रमितको धागो कारखानास्थित कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो।

प्रकाशित मिति : ५ कार्तिक २०७७ बुधबार ००:००  २ : ५९ बजे