८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बजार अनुगमनमा सक्रियताः घेरुवा बनगाईको ओडी जनरल सप्लायर्समा भेटिए म्याद नाघेका सामान



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा बजार अनुगमनलाई तीव्रता दिन थालिएको छ । नेपालीहरुका महान चाड नजिकिदै गरेको अवस्थामा स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको हो ।

बुधबार अपराह्न इलाका प्रशासन कार्यालय वाणगंगाबाट खटिएको एक अनुगमन टोलीले बनगाईमा रहेका दुई ठूला खाद्य तथा पेयपदार्थ विक्रि वितरण गर्ने पसलको अनुगमन गरेको छ । जसमा घेरुवा बनगाई चोक देखि दक्षिणी क्षेत्रमा रहेको ओडी जनरल सप्लायर्सले मानव स्वास्थ्यमा असर पार्ने सामान बेच्ने गरेको पाइएको छ । सप्लायर्समा रहेका सामानको अनुगमन गर्ने क्रममा म्याद गुज्रेका सामान फेला परेको हो ।

चियापत्ती, मरमसला जस्ता सामान म्याद गुज्रेका भेटिएका थिए भने कतिपय सामान कहिले बनेको हो ? कहिलेसम्म खाने हो ? लेबल नलागेका सामान भेटिएका थिए । अनुगमन टोलीका प्रमुख तथा इलाका प्रशासन कार्यालय वाणगंगाका प्रमुख विष्णु प्रसाद ज्ञवालीले तत्काल म्याद नाघेका सामान हटाउन निर्देशन दिनुभएको छ । एक पटकका लागि सुधारको लागि चेतावनी दिएको भन्दै आगामी दिनमा अनुगमन गर्नेक्रममा त्यस्ता सामान भेटिए कानुन बमोजिम कडा सजाय हुने ज्ञवालीले चेतावनी स्वरुप निर्देशन दिनुभयो ।

अनुगमनमा जानु भएका इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले मानव स्वास्थ्यलाई असर पार्ने खालमा अखाद्य बस्तुको विक्रिवितरण तत्काल रोक्न आग्रह गर्नुभयो । पैसा तिरेर किनेपछि उपभोक्ताले सामान राम्रो पाउनुपर्ने अधिकार भएको भन्दै गम्भीर खेलवाड गर्ने खालका गतिविधि नगर्न पसललाई आग्रह गर्नुभयो ।

अनुगमनमा मायादेवी अनलाइनका सम्पादक दिपक अनुरागी, बुद्धआवाजकर्मी नारायण पाण्डे लगायतको उपस्थिती थियो ।

यी पनि… ओदारी-घरबुदियाको गुप्ता जनरल स्टोर्स सिल, म्याद गुज्रेका खाद्य सामग्री बेचेको पाइयो

गोरुसिंगेको मायाज इन्टरनेश्नल होटलद्धारा स्वास्थ्यमाथि गम्भीर खेलवाड

प्रकाशित मिति : २२ आश्विन २०७७ बिहिबार ००:००  ७ : १५ बजे