८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

ओदारी-घरबुदियाको गुप्ता जनरल स्टोर्स सिल, म्याद गुज्रेका खाद्य सामग्री बेचेको पाइयो



मायादेवी अनलाइन, चार नम्बर ।
म्याद नाघेका खाद्य तथा पेय पदार्थ बेचेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने एक पसललाई सिल गरिएको छ ।

कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. ११ ओदारी–घरबुदियामा रहेको गुप्ता खाद्यान्न तथा जनरल स्टोर्सलाई स्थानीय प्रशासनले सिल गरेको हो ।

बुधबार साँझ पख उक्त पसलमा पुगेको अनुगमन टोलीले म्याद गुज्रेका खाद्यान्न तथा पेय पदार्थ फेला पारेको थियो ।

इलाका प्रशासन कार्यालयको कमाण्डमा इलाका प्रहरी कार्यालय पिपरा र नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तुको प्रतिनिधि टोली बजार अनुगमनमा निस्किएको हो ।

वाणगंगाका विभिन्न पसलहरुको अनुगमन गर्दै जादा ओदारी–घरबुदिया पुगेको टोलीले अखाद्य बस्तु बेचविखन गरेर मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ ।

इलाका प्रशासन कार्यालय वाणगंगाका प्रमुख विष्णु प्रसाद ज्ञवालीले गुप्ता खाद्यान्न तथा जनरल स्टोर्समा अधिकांश सामग्री म्याद गुज्रेका भेटिएको बताउनुभयो । म्याद गुज्रेका अखाद्य बस्तुको विक्रिवितरण गर्नु कानुन विपरित हुने भन्दै आवश्यक कारबाहीका लागि पसल सिल गरिएको ज्ञवालीले बताउनुभयो । विहीबार थप अनुगमन पश्चात सिल खुलाइने उहाँले प्रष्ट पार्नुभयो ।

गुप्ता खाद्यान्न तथा जनरल स्टोर्समा मदिरा पनि कारोबार हुने गरेको पाइएको छ । केशर मदिरा पसल र एन के सप्लायर्स पनि सञ्चालन हुँदै आएको यस पसलमा अधिकांश मदिरा पनि म्याद नाघेका भेटिएका छन् ।

पसलका मालिक श्याम गुप्ताले भने आफुहरुले म्याद गुज्रेका सामान नबेचेको दाबी गर्नुभएको छ । कोठा अभावका कारण सामान राखेको भएपनि उपभोक्तालाई उक्त सामान नबेचेको उहाँले दाबी गर्नुभयो ।

यता वाणगंगा ७ को ओडि सजरल सप्लायर्सले पनि म्याद गुज्रेका सामान बेच्ने गरेको अनुगमन टोलीले फेला पारेको छ । पसल भित्र रहेका मसला, चियापत्ती लगायतका सामान म्याद नाघेका भेटिएका हुन् । यस्तै पसलमा मूल्य सूची नभएको, म्यादसहित लेबल लगाएका सामान नभएको पनि पाइएको छ ।

कक्षपति सप्लायर्सले होडिङ बोर्ड नराखेर व्यवसाय सञ्चालन गरेको पाइएको छ । प्रशासनले अबको केही दिनै होडिङ बोर्ड राख्न निर्देशन दिएको छ । यस्तै यत्रतत्र रहेका सामानलाई व्यवस्थित बनाएर राख्न पनि सुझाव दिइएको छ ।

बनगाईमै छापामार शैलीमा रहेको विएण्डबी सप्लायर्स भने अनगुमनकाक्रममा बन्द अवस्थामा भेटिएको छ । सप्लायर्सको ठेगाना पत्ता लगाउन नै आधा घण्टा लागेको अनुगमन टोलीले जसोतसो पत्ता लगाए पनि बन्द अवस्थामा भेटाएको थियो । अनुगमन टोली आउँदैछन् भन्ने थाहा पाएर मालिक भागेको हुन सक्ने आशंका छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७ बुधबार ००:००  ९ : १८ बजे