८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

भालुवाङ राजधानीलाई कपिलवस्तुका शिर्ष दलले गरे स्वागत



मायादेवी अनलाइन, चार नम्बर ।
प्रदेश नम्बर ५ ले लामो समयपछि स्थायी राजधानी र नाम पाएको छ । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइ बहुमतले पास भएको छ ।

तर, प्रदेशको स्थायी राजधानी माग गरिरहेको कपिलवस्तुले राजधानी पाएन । यद्यपि कपिलवस्तुसंग सिमा जोडिएको दाङले स्थायी राजधानी पाएपछि कपिलवस्तुका शिर्ष दलका नेताहरुले स्वागत भने गरेका छन् । प्रदेश राजधानी र नामाकरणको विषयमा जिल्लाका शिर्ष नेताहरुले सहमती जनाएका हुन् ।

प्रदेशका दुई तिहाई सांसदबाट अनुमोदित राजधानी र नाममा आफुहरु सहमत रहेको नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले बताउनुभयो । माथिल्लो कमिटीको निर्णय नै आफुहरुको लागि सर्वाेपरि रहने भन्दै उहाँले भालुवाङ राजधानी बनेकोमा स्वागत गर्नुभयो । मायादेवी अनलाइनलाई संक्षिप्त प्रतिक्रिया दिदै अध्यक्ष पोख्रेलले कपिलवस्तुले पनि राजधानी मागेको स्मरण गर्नुभयो । तर, प्रदेश सभाले दाङको पक्षमा निर्णय गरिसकेकाले स्विकार गर्नुको विकल्प नभएको बताउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यले पनि प्रदेश सरकारले गरेको निणर्यमा आफु सहमत भएको बताउनुभयो । लामो समय देखि कांग्रेस कपिलवस्तुले यहाँ राजधानी मागेको स्मरण गर्दै आफुहरुको प्रदेशमा बहुमत नभएकाले भालुवाङ गएको बताउनुभयो । यद्यपि दाङको भालुवाङ तोकिएको राजधानीबारे पार्टीले स्वागत गरेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा कपिलवस्तुले पनि नाम र राजधानीबारे सहमती जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष दधिराम आचार्यले सरकारले गरेको निणर्यमा आफुहरुको कुनै विरोध नरहेको बताउनुभयो । विज्ञहरुको टोलीले नै प्रदेशको राजधानी र नाम तोकेको भन्दै आफुहरुले आपत्ति जनाउने ठाउँ नरहेको बताउनुभयो ।

कपिलवस्तुका राजनीतिक दलले स्थायी राजधानी भालुवाङको पक्षमा स्वागत गरिरहदा कपिलवस्तु स्थायी राजधानी अभियानका संयोजक पोम नारायण पौडेलले भने राजधानीबारे गम्भीर असहमती रहेको प्रतिक्रिया दिनुभएको छ ।

मायादेवीसंग कुराकानी गर्दै अभियान्ता पौडेलले ऐतिहासिकता, भौगोलिकता, जनसंख्या, क्षेत्रफल र सुरक्षा लगायतका सबै हिसावले कपिलवस्तु स्थायी राजधानी उपयुक्त रहदा रहदै पनि कपिलवस्तुलाई उपेक्षा गरिएको बताउनुभयो । आफुहरु जतिबेला पनि कपिलवस्तु राजधानी हुनुपर्छ भन्ने पक्षमा रहेको पनि पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २१ आश्विन २०७७ बुधबार ००:००  ७ : १९ बजे