काठमाडौं ।
नेपाल आदिवासी जनजाति महासंघले प्रदेश ५ को नाम लुम्बिनी राखेकामा आपत्ति जनाएको छ । ‘मगरात–थरुहट’ को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेश सभाले एकात्मक र केन्द्रीकृत, नश्लवादी चिन्तनबाट ग्रसित भई लुम्बिनी नाम राखेको भन्दै महासंघले आपत्ति जनाएको हो ।
प्रदेश ५ को प्रदेशसभाको मंगलबारको बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी भालुबाङ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको छ । यो निर्णय २०६२र६३ को ऐतिहासिक जनआन्दोलन, सशस्त्र माओवादी जनयुद्ध, आदिवासी जनजाति आन्दोलन, मगरात आन्दोलन, थरुहट आन्दोलन, मधेस विद्रोह, आदिवासी र सरकारबीच भएको विगतको सहमतिरसम्झौता, दलहरूले निर्वाचनमा जनतासँग गरेका प्रतिवद्धता, मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय दस्तावेज र नेपालको संविधान २०७२ को प्रस्तावना र संघीयताको मूल मर्म विपरीत भएको महासंघले जिकिर गरेको छ ।
महासंघले प्रदेश ५ लगायत सबै प्रदेशको नामाङ्कन ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी गर्ने अभियान र आन्दोलन जारी रहेको पनि बताएको छ ।
‘‘प्रदेश नं। ५ को नामाङ्कन ऐतिहासिक थातथलोलाई आधार मान्दै ’मगरात–थरुहट’ राख्नुपर्नेमा पुरानै राज्यसत्ता र संरचनाको झल्को दिने गरी लुम्बिनी’ नै राख्नु भनेको देश र जनताका लागि गम्भीर साथै ऐतिहासिक भूल गर्ने क्रम नरोक्नु हो’ कार्यवाहक महासचिव सुखवीर थामीले विज्ञप्तिमार्फत भनेका छन् ।
राज्यको यस खालको कदमले उत्पीडित आदिवासी जनजाति समुदायको आत्मसम्मानमा गम्भीर र पिडादायी ठेस पुर्याएको पनि उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया