बुटवल ।
प्रतिपक्षी दल नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले मंगलबारलाई कालो दिनका रुपमा मनाउने भएको छ। प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधिसम्बन्धी प्रस्ताव बहुमतले पारित भएपछि अब प्रदेश ५ को राजधानी दाङको भालुबाङ भएको छ। प्रदेशसभामा प्रस्ताव बहुमतले पारित भएलगत्तै नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले विज्ञप्ती जारी गर्दै राजधानी सारिएको दिनलाई कालो दिनका रुपमा मनाउन जिल्लावासीमा अपिल गरेका छन् । उनले मंगलबार साँझ ७ बजे आधा घण्टा घरका बत्ती निभाएर विरोध जनाउन पनि अपिल गरेका छन्।
जनताको भावनामा गहिरो चोट पुर्याउने सरकार र त्यसका मतियारहरुका विरुद्ध उपयुक्त मुल्यांकन हुने पनि उल्लेख गरेका छन्। व्यापक विरोध जनदबाब तथा अस्थायी राजधानी तोकिएपछि रुपन्देहीवासीले प्रदेश राजधानीका लागि गरेको योगदानलाई कुल्चँदै सरकारले दुईतिहाइको दम्भमा गलत निर्णय गरेको उनले जनाएका छन्।
अहिले चलिरहेको आन्दोलनलाई फरक ढंगले जारी राखिरहने कांग्रेसले जनाएको छ। आन्दोलनका रणनीति बनाउन बुटवलको होटलमा बसिरहेका बेला पक्राउ परेका कांग्रेस नेता कार्यकर्तालाई बिनासर्त रिहा नगरे त्यसविरुद्ध आन्दोलन थेग्न सरकारलाई मुस्किल पर्ने चेतावनी दिइएको छ। पक्राउ परेका नेता कार्यकर्ताहरूलाई यातना दिने, झुट्टा मुद्दा लगाएर फसाउने प्रहरी प्रशासनको हर्कत तत्काल रोक्न कांग्रेसले आग्रह गरेको छ।
प्रतिक्रिया