मायादेवी अनलाइन, चार नम्बर ।
बाणगंगा नगरपालिका वडा नम्बर ४ ले विकास निर्माणलाई तिव्रता दिएको छ । पिचको योजनामा परेका र नपरेका बाटाघाटाहरुलाई प्राथमिकिकरणको आधारमा अहिले धमाधम काम अगाडी बढाएको हो ।
वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले मुख्य गरी बाटोघाटो नभएर लामो समय समस्यामा परेका स्थानमा पहिलो प्राथमिकता दिएको बताउनु भयो । यसै अनुसार अहिले वडा नम्बर ४ झुँगामा बाटोको स्तरउन्नतिसंगै ग्राभेलको काम भइरहेको छ ।
वडा नम्बर १ र ४ को संगमस्थल स्कुल खेतमा सानो र साँघुरो बाटोका कारण करिब १० बर्षसम्म दुख पाएका परिवारको समस्या बुझेर टोल विकास समितिको समन्वयमा ५ मिटरको बाटो कायम गरी अहिले ग्राभेलको काम भएको हो ।
उक्त स्थानमा अहिले पहिलो चरणमा ग्राभेल गरिने र अबको बजेटमा कलभट निर्माण गरेपछि पिचकै योजना अनुसार काम भएको क्षेत्रीले मायादेवीसंग बताउनु भयो ।
अबका बर्ष पुरै विकासको बर्ष भएकाले वडाका यस्तै समस्याग्रस्त ठाउँमा आवश्यक बजेट विनियोजन भएको उहाँले बताउनु भयो । अन्य स्थानमा पनि यसै गरी काम भएको उहाँको भनाई छ ।
सानो बाटोमा आवतजावतमा समस्या भएको थाहा पाएपछि झुँगा टोलमै पहिलो प्राथमिकतामा राखेर उक्त स्थानमा काम भएको झुँगा टोल विकास समितिका अध्यक्ष हर्क बहादुर हमालले बताउनु भयो ।
आफू टोल विकास समितिको अध्यक्ष भएदेखि नै जनताका ससाना समस्यामा केन्द्रित भएको बताउनु भयो । उहाँले आफ्नो कार्यकालभरी बाटोको निकास नभएका स्थानमा बाटोको पहल गर्ने, ग्राभेल नभएर हिलाम्य र धुलाम्य हुने बाटामा ग्राभ्रेलको लागि पहल गर्ने बताउनु भयो ।
टोल विकास समितिका सचिव दामोदर पौडेलले अहिले ग्राभेल भइरहेको स्कुलको खेत जोडिएको ठाउँमा आवश्यक जति बाटो नभएर धेरैले दुख पाएको हुँदा पहिलो प्राथमिकता दिएको बताउनु भयो । अहिले ग्राभेल गर्ने र पछि यसको स्तरउन्नति गरिने उहाँको भनाई छ ।
यता बाटो बनेपछि त्यसवरिपरिका परिवार खुसी भएका छन् । स्थानीय खिमानन्द न्यौपाने र हरि न्यौपानेले लामो समयपछि बल्ल वडाले आफूहरुको समस्या सुनेको भन्दै वडाध्यक्ष र टोल विकास समितिलाई धन्यबाद दिनुभयो ।
बाटो नभएकै कारण विरामी पर्दा, मालसामान ढुवानी गर्दा, खेत खनजोत गर्दा ट्याक्टरसम्म चल्न समस्या भएकाले धेरै दुख पाएको मायादेवीसंग बताउनु भयो । बाटो बनेपछि त्यहाँका अन्य करिब १० घर प्रत्यक्ष लाभान्वित हुने छन् ।
प्रतिक्रिया