८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मानव अधिकार आयोगले भन्यो, ‘रुपन्देहीलाई हिंसात्मक नबनाऊ’



काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले रूपन्देहीमा भइरहेको विरोधका कार्यक्रमहरूलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ। आयोगले सोमबार विज्ञप्ति जारी गर्दै विरोध कार्यक्रमहरू हिंसात्मक नबनाई संयमित र शान्तिपूर्ण रूपमा अगाडि बढाउन आग्रह गरेको हो।

आफ्ना असहमतिका विषयहरूको वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न आयोगले आन्दोलनरत पक्षलाई आग्रह गरेको छ। असहमतिका कुनै पनि विषयमा शान्तिपूर्णरूपमा विरोध तथा प्रदर्शन गर्न पाउने हक प्रत्येक नागरिकलाई भएता पनि आगजनी, तोडफोड जस्ता कार्यहरू कुनै पनि दृष्टिकोणबाट उचित हुँदैनन्,विज्ञप्तिमा भनिएको छ।

साथै, शान्तिपूर्ण रूपमा विरोध प्रदर्शनमा उत्रिएका नागरिकहरूमाथि मर्यादित र संयमित व्यवहार गर्न पनि आयोगले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको आयोगका प्रवक्ता तथा सचिव वेद भट्टराईले जानकारी दिए।

गत शुक्रबार प्रदेश नम्बर ५ सरकारले प्रदेशको राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्ताव गरेको थियो। त्यसकै विरोधमा रुपन्देहीमा आन्दोलनकर्ताले बन्द, हड्ताल तथा प्रदर्शन गरेका थिए। त्यही क्रममा आन्दोलनरत पक्षले सरकारी सवारी साधनहरूमाथि तोडफोड तथा आगजनी गरेको थियो।

यस सम्बन्धमा आयोगको प्रदेश कार्यालय बुटवलले अनुगमन गरिरहेको आयोगले जनाएको छ।
त्यहाँको बन्दका कारण रुपन्देही र आसपासका जिल्लाहरूमा बिरामी, वृद्ध, गर्भवती महिला, श्रमिकलगायतलाई आवागमन तथा दैनिक जीवनमा कठिनाइ उत्पन्न भएको आयोगको अनुगमन टोलीले जनाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०७७ सोमबार ००:००  १ : ४१ बजे