काठमाडौं ।
नेपाल विद्यार्थी संघ नेविसंघ का महामन्त्री बलदेव तिमल्सिनाले वार्ता र सहमतिबाटै ५ नम्बर प्रदेशको राजधानी तोक्न माग गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत महामन्त्री तिमल्सिनाले विरोध र दमन नभई वार्ता र सहमतिबाटै समस्या समाधान गर्न माग गरेका हुन।
उनले फेसबुकमा लेखेका छन, ‘पाँच नम्बर प्रदेश राजधानीको सम्बन्धमा सरकारको निर्णयपछि बुटवलमा भैरहेका प्रदर्शन, सरकारी दमन र धरपकडप्रति नेपाल विद्यार्थी संघको गम्भिर ध्यानाकर्षण भएको छ।
छलफल,संवाद,वार्ता र सहमतिको माध्यमबाट निकास खोज्नुपर्छ।’ सकरात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्नुको सट्टा उल्टै धरपकड, दमन,कर्फ्यु र सत्ताको आडमा बर्बरतापूर्वक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकताको उपज रहेको उनले उल्लेख गरेका छन्।
शान्तिपूर्ण ढंगबाट छलफल गरिरहेको अवस्थामा पक्राउ परेका नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कांग्रेसका नेताहरू बिष्णु पोखरेल, हरिलाल पाण्डे, शिव गैरे, ज्ञानेन्द्र कार्की, प्रकाश गैरे र पत्रकार कमला पाण्डे लगायतलाई गरिएको गिरफ्तारी प्रति घोर भर्त्सना गर्दै तत्काल विना शर्त रिहाइ गर्न उनले माग गरेका छन्।
प्रतिक्रिया