बुटवल ।
साविक लुम्बिनी अञ्चल बन्दको विहानैबाट सुरु भएको छ । बुटवललाई नै स्थायी राजधानी कायम गर्नु पर्ने माग राख्दै चरणवद्ध आन्दोलनमा रहेका यस क्षेत्रका संघ–संस्थाहरुले आजको लागि साविक लुम्बिनी अञ्चल बन्दको आह्वान हुन् ।
बन्द पछि हिजो अस्तिको तुलनामा आज विहानैबाट बढी सुनासान छ भने बजारमा चहलपहल पनि कम भएको छ ।
विहान ९ बजेदेखि लुम्बिनी बन्द हाह्वान गरे पनि प्रभाव भने विहानैबट परेको देखिन्छ । लामो तथा छोटो दुरीका सवारी साधन विहानैबाट चलेका छैनन् । जसले सडक सुनसान भएको छ ।
आज बुटवलको पुष्पलालपार्कमा भेला भई प्रदेशसभा सचिवालय घेराउ गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक खेमबहादुर हमालले बताए ।
विरोधको कार्यक्रम अन्तरगत प्रधानमन्त्री तथा मुख्य मन्त्रीलाई ज्ञापन पत्र दिनुका साथै सडकमा प्रदर्शन गर्ने कार्यक्रमहरु तय गरिएको हमालले बताएका छन् ।
यसै बीच बुटवलमा स्थायी राजधानीको माग गर्दै सडकमा प्रदर्शन हुन थालेपछि प्रशासनले बुटवलका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेशसभा भवन तथा प्रदेशसभा सचिवालय र विभिन्न मन्त्रालयहरुको क्षत्रहरुमा निषेधाज्ञा जारी गरिएको हो ।
प्रदेश ५ को प्रदेशसभामा प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ हुनेगरी शुक्रबार प्रस्ताव पेश भएलगत्तै बुटवलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सरकारले यस क्षेत्रका मूख्य सडक, विभिन्न चोक तथा सरकारी कार्यालय क्षेत्रहरुमा ठूलो संख्यामा सुरक्षा परिचालन गरेको छ ।
प्रतिक्रिया