८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

राजधानी बादविवादः सरोकारवाला भन्छन् ‘कपिलवस्तु सधैँ हेपियो’



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुका प्रदेश सांसददेखि अन्य सरोकारवालाले प्रदेश ५ को राजधानी कपिलवस्तु नै बन्नु पर्ने पुनः दोहोर्‍याएका छन् । प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ प्रस्ताव गरेसंगै उत्पन्न भएको विवादका बीच कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने सांसद, स्थायी राजधानी अभियान्ता, पत्रकार र सर्वसाधारण सबैले राजधानी कपिलवस्तु नै उत्तम भएको बताएका हुन् ।

कपिलवस्तु राजधानी संघर्ष समितिले आइतबार कपिलवस्तु उद्योग वाणिज्य संघको हलमा आयोजना गरेको ‘कपिलवस्तु स्थायी राजधानीको लागि सरोकारवाला’ बिषयक अन्तर संबादमा सहभागी वक्ताहरुले दाङ र बुटवलको किचलो छोडेर अब कपिलवस्तु राजधानी बनाउन अन्तिमसम्म दबाब सिर्जना गर्नुपर्ने धारणा राखेका छन् ।

जिल्लाबाट प्रदेशसभा प्रतिनिधित्व गर्ने सबैजसो सांसदलाई आमन्त्रण गरिए पनि नेपाली कांग्रेसका तीन जना समानुपातिक तर्फका सांसद बाहेक अन्तरसंवादमा निर्वाचित कुनै पनि सांसद सहभागी भएनन् । नेकपा, समाजबादीबाट कार्यक्रममा कुनै सांसद उपस्थित थिएनन् भने कांग्रेसबाट प्रत्यक्ष निर्वाचित सांसद पनि उपस्थित थिएनन् ।

उपस्थित सांसदले पनि मतदानको विषयमा प्रष्ट धारणा राख्न सकेनन् । सांसद रिना नेपाल, सुन्दावती शर्मा, माला गोतामे, शान्तिदेवी बर्माले कपिलवस्तु राजधानी बनाउँदा उत्तम हुने धारणा राखे ।

आफूहरुले सुरु देखि नै यो विषय उठाउँदै आएको भए पनि दुई तिहाइको सरकारले अन्यायपूर्ण तवरले पेलेर निर्णय गर्दा आफुहरुका कुनै पनि माग सुनुवाई हुने स्थिति नभएको उनीहरुले बताए ।
सांसद गोतामेले आफुहरु दाङ र बुटवल कुनैको विरोधमा नरहेर कपिलवस्तुको समर्थनमा रहेको बताइन् । यसको लागि अब पार्टीका नेता र सांसदले ठुलो भूमिका खेल्नु पर्ने उनको भनाई छ । उनले प्राचिन ऐतिहासिक बुद्ध महत्व बोकेको लुम्बिनीको उपेक्षा भएको बताइन् ।

सांसद रिना नेपालले राजधानीको विषयमा कुनै छलफल नगरी मुख्य मन्त्री शंकर पोख्रेलले पेलेर गएको बताइन् । उनले भनिन्, ‘मुख्यमन्त्री ज्यू र नेकपाका दुई अध्यक्षबीच छलफल भएर सहमति भएछ । एक्कासी मन्त्री परिषद्को बैठकले प्रदेश सभामा नाम पठायो भनेर मिडियाबाट सुन्दा पो अचम्म लाग्यो ।’

कपिलवस्तु आफैमा प्रदेशका सबै जिल्लाको लागि उपयुक्त र मध्यविन्दु भएको भन्दै सबैले यसको पक्षमा आवाज निकाल्नु पर्ने उनको भनाई छ । सांसद नेपालले कपिलवस्तुमा भएको राजधानी दबाब कार्यक्रममा स्वयम् नेकपाका एक जना सांसदको पनि सहभागिता नहुनुले त्यहाँ षडयन्त्र भएको आरोप लगाए ।

कांग्रेस नेता सुरेश शर्माले नेताहरुकै कारण कपिलवस्तु सधैँ पछि परेको भन्दै राजधानीको विषय पनि त्यसैको उपज भएको बताए । उनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने कपिलवस्तुका कांग्रेस सांसद कपिलवस्तुको पक्षमा भएकाले नेकपा पनि सोही अनुसार भोटिङमा जानु पर्ने उनको भनाई छ ।

उनले अब राजधानी प्रस्ताव फिर्ता भएर पुनः सच्चिनु पर्ने र त्यसमा कपिलवस्तु समेटिनु पर्ने बताए । जिल्लाका सबै दलका सांसद सहभागी हुनु पर्ने कार्यक्रममा कांग्रेसका मात्रै सहभागी हुनुले पनि कपिलवस्तुका अरु प्रदेश सांसद कपिलवस्तु राजधानीको लागि छैनन् भन्ने प्रष्ट भएको बताए ।

संघर्ष समितिका संयोजक पोम नारायण पौडेलले कपिलवस्तुका नेता र सांसदकै कारण कपिलवस्तु उपेक्षित भएको बताए । अब कपिलवस्तु सधैँ हेपिएर नबस्ने भन्दै राजधानी जहाँ भए पनि निरन्तर खबरदारी जरुरी रहेको बताए । जिल्लामा आयोजना भएको महत्वपूर्ण कार्यक्रममा नेकपाका सांसदको उपस्थित नरहनुले संघर्ष समितिको चित्त दुखेको पौडेलको भनाई थियो ।

अन्तरसंबादमा राजधानी अभियान्ता विष्णु न्यौपाने, डोलकराम घिमिरे, भेषराज पाण्डे, कपिलवस्तु उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, शिक्षक रोमकान्त घिमिरे, महिला नेतृ गीता अञ्जान, त्रिलोचन घिमिरे, पत्रकार चन्द्रकान्त न्यौपाने लगायतले आ–आफ्नो राय राखेका थिए ।

कपिलवस्तुको विकासको लागि प्रदेश राजधानी बुटवलभन्दा भालुबाङ उत्तम भएको बताउँदै उनीहरुले कपिलवस्तु सधैँ रुपन्देहीको छायाँमा परेको बताएका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७ आइतबार ००:००  ७ : १९ बजे