८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कृषि ज्ञान केन्द्रमा कुल ९ करोड ८८ लाखको बजेट



मायादेवी अनलाइन, तौलिहवा ।
चालु आर्थिक बर्षका लागि कृषि ज्ञान केन्द्र कपिलवस्तुमा कुल ९ करोड ८८ लाखको बजेट बिनियोजन गरिएको छ ।

पूजीगत र चालु अन्तर्गत सो बजेट छुट्टाइएको हो । पाँच बिभिन्न कार्यक्रम, ज्ञान केन्द्रका लागि बजेट तोकिएको हो ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुले तौलिहवामा राखेको चालु आर्थिक बर्ष २०७७÷०७८ का लागि बिनियोजन गरेको बजेटको सार्वजनिक कार्यक्रममा केन्द्रका प्रमुख भीमनाथ शर्माले सो बजेट बारे जानकारी गराएका हुन् ।

कृषि उत्पादन, खाद्य तथा सुरक्षा कार्यक्रममा १ करोड २२ लाख, स्मार्ट कुषि गाउँ कार्यक्रममा १ करोड ७६ लाख बजेट छट्टाइएको छ ।

यस्तै अभियानमुखी (मिसन) कृषि तथा पशुपंक्षी विकास कार्यक्रममा १ करोड ४७ लाख, कृषि तथा पशुपंक्षी श्रोत तथा प्रबिधि सेवा टेवा बिस्तार कार्यक्रममा १ करोड १७ लाख तथा भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय संघ अन्तर्गत शसर्त अनुदानमा २ करोड ७८ लाख रुपँैया बजेट छ ।

सो अवसरमा प्रदेश सदस्य धरम बहादुरलाल श्रीवास्तवले कृषि अनुदानको दोहोरापन हटाउन एक आपसमा समन्वय हुनु पर्ने बताए । कृषि अनुदान वास्तविक कृषकले पाउनु पर्नेमा जोड दिदै उनले लिने र दिने दुबै यस बिषयमा गम्भीर हुनु पर्ने बताए ।

जिल्लामा यस बर्ष थप २ स्थानमा स्मार्ट गाउँ कार्यक्रम संचालन हुने उनले जानकारी दिए । मलको हाहाकार हटाउन दशमै मलको कारखानामा बनाउनु पर्ने उनले बताए ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले कृषि प्रधान देश भए पनि कृषि क्षेत्रको अवस्था दयनीय भएको बताए । उनले प्रदेश र पालिकाहरुलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए । कृषि उत्पादन बढाउन ब्यवसायिक कृषिमा जोड दिए ।

सो अवसरमा बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले ६५ प्रतिशत बढी जनसंख्या कृषिमा आधारित रहे पनि कृषि क्षेत्रको अवस्था भने सुधार नभएको बताए । उनले कृषि क्षेत्रको सुधारकालागि तिनै तहका सरकारले ठोस योजना र कार्यक्रम ल्याउनु पर्ने बताए ।

कार्यक्रममा टाठाबाडाले ३ वटै तहबाट अनुदान लिने तर वास्तविक कृषक भने सधै बंचित रहेको सहभागीहरुले बताएका थिए । अनुदानलाई पारदर्शी र दोहोरोपना हटाउन एक आपसमा समन्वय जरुरी रहेको ठम्याइएको थियो ।

समन्वय समितिका प्रमुख खनालको अध्यक्षता, शिवपुजन गूप्ताको संचालन र सत्यम हरिजनको स्वागत मन्तब्यमा भएको कार्यक्रममा कपिलस्तु नगरपालिका मेयर किरण सिंह, शिवराज नगरपालिका मेयर नेत्र प्रसाद अधिकारी, बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७७ आइतबार ००:००  ५ : ४८ बजे