८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आइपिएलः मुम्बईले दियो हैदराबादलाई २ सय ९ रनको लक्ष्य



एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आइपिएल) को १७ औं खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई २ सय ९ रनको विशाल लक्ष्य दिएको छ ।

शारजाहमा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८ रन बनायो । काइरन पोलार्ड १३ बलमा ३ छक्का सहित २५ रनमा अविजित रहे । क्रुनाल पान्ड्या ४ बलमा २ चौका र २ छक्का सहित २० रनमा अविजित रहे ।

मुम्बईले कप्तान रोहित शर्माले पहिलो ओभरको पाँचौ बलमा ब्यक्तिगत ६ रनमा गुमाएको थियो । सन्दीप शर्माको बलमा रोहित विकेटकिपर जोनी बेयरस्टोबाट कट बिहाइन्ड क्याच आउट हुन पुगेका थिए ।

कप्तान डेभिड वार्नरले रिभ्यु लिदै रोहितलाई पेभिलिएन फर्काए । सिद्धार्थ कौलले छैटौं ओभरको पाँचौ बलमा सूर्यकुमार यादवलाई २७ रनमा टि नटराजनबाट क्याच आउट गराउँदै दबाबमा राख्न खोजेका थिए । सूर्यकुमारले १८ बलमा ६ चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि इशान किशन र क्विन्टन डी ककले ७८ रनको साझेदारी गर्दै इनिङ बढाएका थिए । १४ औं ओभरको पहिलो बलमा राशिद खानले आफैं क्याच लिदै डी ककलाई ६७ रनमा आउट गरे ।

डी ककले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । सन्दीप शर्माको १५ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका किशन मनिष पान्डेबाट ३१ रनमा क्याच आउट हुन पुगे ।

किशनले २३ बलमा २ छक्का र १ चौका प्रहार गरे । कौलको २० औं ओभरको दोस्रो योर्कर बलमा हार्दिक पान्ड्या २८ रनमा बोल्ड आउट गरे । पान्ड्याले १९ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

राशिद खानले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए ।

लगातार योर्कर फाल्दै मुम्बईलाई दबाबमा राखेका टि नटराजनले विकेट लिन नसकेपनि ४ ओभरमा २९ रन खर्चेका थिए । सिद्धार्थ कौलले ४ ओभरमा ६४ रन खर्चेर २ विकेट लिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७ आइतबार ००:००  ५ : ४६ बजे