बुटवल ।
बुटवलमा रहेको प्रदेशको राजधानी अन्यत्र सार्ने प्रस्ताव आउँदा पनि मौन बसेको भनेर चौतर्फी आलोचना भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले तीन दिन पछि बल्ल मुख खोलेको छ ।
सत्तारुढ नेकपाको रुपन्देही कमिटीले आफ्ना प्रदेशसभा सदस्यहरुलाई निर्वाचनका बेला गरेका बाचा स्मरण गर्न आग्रह गर्दै प्रदेशको राजधानी सार्ने प्रस्ताव जनभावना बिपरीत भएको प्रतिक्रिया दिएको छ ।
आफु आवद्ध पार्टी र सरकारले धोका दिएपछि रुपन्देहीका नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरुले पार्टी छोड्ने समेतको तयारी गरेपछि नेकपा रुपन्देहीले यस्तो प्रतिक्रिया दिएको हो ।
पार्टीका रुपन्देही अध्यक्ष शिवराज सुवेदी र सचिव नारायण बहादुर जिसीले जारी गरेको बिज्ञप्तीमा नेपालको संबिधानले प्रदेशको राजधानी तोक्दा प्रशासनीक, भुगोल र पूर्वाधारको बिकासलाई ध्यान दिनुपर्ने बिषय निर्दिष्ट गरेको उल्लेख गर्दै अहिले प्रस्ताव गरिएको क्षेत्र संबिधानको उक्त मर्म बिपरीत भएको ठहर गरिएको छ ।
बिज्ञप्तीमा कोरोना महामारीको बेलामा राजधानी सार्ने प्रस्तावले कुनै औचित्य पुष्टि गर्न नसक्ने बताउँदै निर्णय सच्याउन आग्रह गरिएको छ ।
यसका साथै बिज्ञप्तीमा प्रदेशको राजधानीका लागि बुटवलका बासिन्दाले गरेको योगदान भौतीक संरचना निर्माणमा भएको खर्च र उपलब्ध भौतिक पुर्वाधारलाई समेत ध्यानमा राखि प्रदेशको राजधानी अस्थायी राजधानीलाई नै स्थायी कायम गर्न आग्रह गरिएको छ ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी तिलोत्तमा नगर कमिटीले एक बिज्ञप्ती जारी गरी प्रदेशको राजधानी सार्ने प्रस्तावको बिरोध जनाएको छ ।
पार्टीका नगर अध्यक्ष मोहन चापागाई र सचिव लक्ष्मण खनालद्धारा जारी बिज्ञप्तीमा बिगतमा मतदातासंग गरिएका बाचा स्मरण गर्न संसदहरुलाई आग्रह गर्दै सोही अनुसार सदन र संसदीय दलमा भुमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
बिज्ञप्तीमा प्रदेशका सांसदहरुलाई प्राप्त जनमत प्रति निष्ठा ईमान र दृढताका साथ पेश हुन आग्रह गरिएको छ ।
प्रतिक्रिया